सरकारले दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरेको खोप अभियान प्रभावित भएको छ।

सरकारले खरिद गरेको खोप तथा कोभ्याक्स फ्यासिलिटी मार्फत आउने भनेको खोपहरु समयमा आपूर्ति नहुँदा नेपालमा खोप अभियान प्रभावित हुन पुगेको हो।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भिम सिंह तिङ्करीले चैत ४ गतेदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका लागि सुरु गर्ने भनिएको खोप अभियान स्थगित हुने अवस्था आएको जानकारी दिए।

सरकारले खोप ल्याउन पहल गरिरहेपनि समयमा खोप नआउने संकेत देखिएको भन्दै खोप अभियान प्रभावित भएको उनले बताए।

‘दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिकालाई पनि राखिएको छ,’ डा तिङ्करीले भने, ‘तर, खोप आयात नभएकाले ५५ वर्ष माथिकालाई खोप अभियान सुरु गर्न केही समय लाग्छ जस्तो छ।’

दोस्रो प्राथमिकतामा परेकाहरुमा खोप लगाउने उत्साह बढी रहेपनि खोपको आयात गर्न सहज नभएको उनको भनाइ छ।

नेपालमा भारत सरकारको अनुदानमा १० लाख डोज, सरकारले भारतको सेरम इन्स्टिच्युटसँग गरिद गरेको १० लाख डोज र कोभ्यास फ्यासिलिटी मार्फत ३ लाख ४८ हजार डोज खोप मात्र नेपाल ल्याइएको छ।

ती खोपहरु मध्ये हालसम्म १६ लाख डोज खोप मानिसहरुमा लगाइसकिएको छ। केही दिन भित्र नै खोप आपूर्ति नभए दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरिएको खोप अभियान नै स्थगित हुनसक्ने डा तिङ्करीको भनाइ छ।

खोप ल्याउन सरकारले कुटनीतिक नियोगहरु मार्फत समेत पहल गरिरहेको उनको भनाइ छ।