कोभिड १९ महामारीका कारण नेपाल सहित दक्षिण एसियामा मातृ तथा बाल मृत्युदरमा वृद्धि भएको छ। संयुक्त राष्ट्रसंघको हालै जारी गरिएको रिपोर्टमा कोभिड महामारीले स्वास्थ्य सेवामा पुर्‍याएको अवरोधका कारण नेपालसहित दक्षिण एसियाली देशमा  २ लाख ३९ हजार मातृ तथा बालमृत्यु भएको उल्लेख छ।

यी ६ राष्ट्रमा पाँच वर्ष मुनिका २ लाख २८ हजार बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्र संघको अनुमान छ। अत्यावश्यक स्वास्थ्य सेवामा परेको प्रभाव, पोषणदेखि खोप अभियान रोकिनुलाई संयुक्त राष्ट्रसंघले बाल मृत्युदरको कारण मानेको छ।

यो रिपोर्ट अफगानिस्तान, नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा केन्द्रित छ। कोभिड महामारीले विशेषगरी महिला, बालबालिका र किशोरकिशोरीहरु बढी प्रभावित भएका छन्। दक्षिण एसियामा १ करोड ३० लाख बढी मानिस कोभिडबाट प्रभावित भएका छन्।  १ लाख ८६ हजारभन्दा बढीको मृत्यु भएको उक्त रिपोर्टमा उल्लेख छ।

कोभिड १९ महामारीका कारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दक्षिण एसियाको स्वास्थ्य सेवा, विद्यालय, अर्थ व्यवस्था सहित सरकारी रणनीतिलाई असर गरेको छ। 

गम्भीर कुपोषणको लागि उपचार गर्ने बालबालिकाको संख्या बंगलादेश र नेपालमा ८० प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ। भारत र पाकिस्तानमा भने नियमित खोप अभियान क्रमश ३५ र ६५ प्रतिशतले घटेको छ।

सन् २०२० मा भारतमा बाल मृत्युदर बढेको देखिएको छ। भारतमा १५ दशमलव ४, बंगलादेशमा १३ प्रतिशतले बाल मृत्युदर बढेको छ। सबैभन्दा धेरै श्रीलंकामा बाल मृत्युदरमा वृद्धि भएको छ। श्रीलंकामा २१ दशमलव ५ र पाकिस्तानमा २१ दशमल ३ प्रतिशतले बाल मृत्युदरमा वृद्धि भएको प्रतिवेदनले देखाएको छ। 

दक्षिण एसियामा अस्थायी परिवार नियोजनका साधनको पहुँच अभावका कारण ३५ लाख अनिच्छित गर्भधारण भएको पनि अनुमान गरिएको छ। जसमध्ये ४ लाख किशोरीहरु रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। 

-बिबिसी