धरान । गोधुली रनिङ फुटबलको एक्काइसौं संस्करणमा नयाँ वडाहरू उपाधि होडमा पुगेसँगै ‘परम्परागत फुटबलको अन्त्य’ गरेको सङ्केत गरेको छ । 

आज (शनिबार) हुने उपाधि होडमा धरान–१४ पहिलोपटक र धरान–१६ चौथोपटक फाइनलमा पुगेको वडा हो । धरान–१४ ले हालसम्म सातपटक मात्रै गोधुलीमा सहभागिता जनाएको छ भने धरान–१६ भने यस वर्षसहित २० औं पटकसम्म गोधुलीमा सहभागिता जनाउने वडा हो ।

‘सायद ०५८ सालमा हुनुपर्छ, प्रतिबन्धमा परेका कारण सहभागी हुन पाएन’ –गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले भने । प्रतिबन्धमा परेको अघिल्लो वर्ष अर्थात् सातौं संस्करणमा धरान–१६ ले उपविजेतामा चित्त बुझाएको थियो । 

वडाका कप्तान सविन राईका अनुसार सातौं, तेह्रौं, बीसौंमा उपविजेतामै चित्त बुझाएको थियो । एक्काइसौं संस्करण सँघारमा छ । ‘हाम्रो टिम तयारी अवस्थामा छ, रक्षापङ्क्ति र मिडफिल्ड हाम्रो राम्रो छ’ टिम प्रशिक्षक श्यामकुमार लिम्बूले भने, ‘निर्धारित समयमै स्कोर निकाल्ने हाम्रो लक्ष्य हुन्छ ।’

धरान–१६ यसपटक उपाधि दाबेदार मानिएको धरान–१७ र १५ लाई पराजित गर्न सफल भएको वडा हो । उसले हालसम्म एक गोल मात्रै खाएको छ । पहिलो खेलमा धरान–७ लाई ५–१ गोल अन्तरले पराजित गरेको थियो । प्रिक्वार्टरमा धरान–६ लाई १–० गोलले हराएको थियो ।

यता धरान–१५ लाई क्वार्टरमा ४–० गोलले स्तब्ध बनाएको थियो । दाबेदार मानिएको अर्थात् पछिल्ला संस्करणहरूमा उपाधि उचाल्दै आएको धरान–१७ लाई १–० गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । 

यसकारण पनि धरान–१६ लयमा देखिएको छ । ‘हामीले गोधुलीकै लागि भनेर दुई महिनाअगाडि चोकस्तरीय प्रतियोगिता नै गरेका थियौं’ प्रशिक्षक लिम्बूले भने, ‘वडाको टिमलाई राम्रो बनाउनुपर्छ भनेर त्यो गरिएको थियो ।’ फुटबल टिमवर्क भएको खेल हो । विगतका दाबेदारहरूलाई नयाँ वडाहरूले चुनौती दिन थालेको छ ।

यसको ज्वलन्त उदाहरणका रूपमा धरान–१४ लाई लिन सकिन्छ । उसले पहिलो खेलमा धरान–११ लाई टाइब्रेकरमा ५–३ गोलअन्तरले हराएको छ । जबकि धरान–११ लाई उपाधि दाबेदार मानिदै आएको छ । उसले तीनपटक गोधुली जितेको छ ।

धरान–१४ को हकमा यसपटक केही आश्चर्यजनक परिणाम पनि आएको छ । उसले गोधुलीका दाबेदार टिमलाई त्यो पनि टाइब्रेकरबाटै हराउँदै उपाधि होडमा उभिएको छ । 

‘हामीले तीनवटा खेल खेल्यौं, सबैमा टाइब्रेकरबाटै जितेका छौं’ टिम व्यवस्थापक विकास राईले भने, ‘फाइनलमा पनि रक्षापङ्क्ति खेल्दै टाइब्रेकरबाटै उपाधि जित्ने लक्ष्य छ ।’ धरान–१४ ले उन्नाइसौं संस्करणमा धरान–१७ सँग सेमिफाइनलमा हार बेहोरेको थियो । त्यसअघिका प्रतियोगिताहरूमा ऊ पहिलो चरणबाटै बाहिरिँदै आएको थियो ।

उसले क्वार्टरफाइलनमा धरान–१८ अर्थात् दुईपटकको गोधुली विजेतालाई टाइब्रेकरमै ५–३ गोलअन्तरले हराएको थियो । त्यस्तै सेमिफाइनलमा ६ पटकको विजेता धरान–१९ लाई ४–२ गोलअन्तरले पाखा लगाउँदै उपाधि नजिक पुगेको छ । धरान–१९ लाई हरेक वर्ष दाबेदारका रूपमा हेरिँदै आएको छ । 

यसले पनि वडा फुटबलमा नयाँ वडाहरूले आफ्नो खेलस्तर सुधार गरेको सङ्केत गरेको छ । गोधुली फुटबलमा धरान–११, ८, १९, १७ र १५ लाई हरेक वर्ष दाबेदार वडाको रूपमा हेरिँदै आएको थियो ।

तर, यस वर्ष १४ र १६ नम्बर वडा उपाधि होडमा पुगेसँगै गोधुलीमा नयाँ इतिहास रचिएको बुझ्न कठिनाइ पर्दैन । गोधुलीका पर्याय शक्तिका रूपमा हेरिँदै आएका वडाहरूको हारले पनि वडास्तरीय फुटबलमा नयाँ वडाको आगमन भएको छ ।