इटहरी । नेपाली चलचित्र क्षेत्रको लोकप्रिय फ्रेन्चाइज ‘कबड्डी’ फेरि नयाँ कथासहित दर्शकमाझ आउने भएको छ । काजीको प्रेम प्राप्तिका लागि लामो संघर्ष देखाएको अघिल्लो शृंखलापछि यसपटक निर्माण टिमले उसको व्यावहारिक जीवन, बदलिँदो समाज र पुराना पात्रहरूको नयाँ यात्रालाई केन्द्रमा राख्दै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ तयार गरेको हो ।
‘कबड्डी ४’ लाई ‘द फाइनल म्याच’ नाम दिइएकाले धेरै दर्शकले काजीको प्रेमकथा त्यहीँ टुंगिएको अनुमान गरेका थिए । तर, प्रेम प्राप्तिपछि सुरु हुने जीवनका नयाँ चुनौती र जिम्मेवारीलाई पर्दामा उतार्ने उद्देश्यले पाँचौँ शृंखला निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन् । दर्शकको प्रतिक्रिया र अभिनेता दयाहाङ राईसँगको छलफलपछि काजीको कथालाई अगाडि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।
यसपटकको कथामा काजी र उसका साथीहरू मात्र होइन, उनीहरू हुर्किएको परिवेशमा आएको परिवर्तनलाई समेत महत्त्व दिइएको छ । सन् २०१४ मा पहिलो शृंखला सार्वजनिक हुँदा ढुंगा र माटोका घर तथा कच्ची बाटोले चिनिने मुस्ताङ अहिले आधुनिक पूर्वाधार र बदलिँदो जीवनशैलीसँगै अघि बढेको छ । घासादेखि माथिसम्म सडक पक्की हुनु, घरका स्वरूप फेरिनु र गाउँमा आधुनिकताको प्रभाव बढ्नुले कथाको पृष्ठभूमि पनि नयाँ बनेको छ ।
परिवेशसँगै पात्रहरूको सोच, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा आएको परिवर्तन ‘कबड्डी ५’ को मुख्य विशेषता हुने निर्माण पक्षको भनाइ छ । अघिल्ला शृंखलामा हास्यव्यंग्य र रमाइला संवादले दर्शकको मन जितेको फिल्मले यसपटक पात्रहरूले समाज र आफ्नो जीवनका लागि गर्नुपर्ने त्याग तथा सम्झौताका विषयलाई पनि उठाउनेछ । निर्देशक गुरुङका अनुसार काजीले आफ्नो व्यावहारिक जीवन र समाजका लागि धेरै कुरामा सम्झौता गरेको कथा यसमा समेटिएको छ ।
फिल्ममा पुराना पात्रसँगै केही नयाँ र अप्रत्याशित प्रसंग पनि जोडिएका छन् । छट्टु तथा प्रविधिमैत्री स्वभावको बिके पात्र यसपटक कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोडिनेछ । त्यस्तै, पहिलो र दोस्रो शृंखलामा देखाइएको काजी र मैयाँबीचको सम्बन्धको सम्झना पनि पाँचौँ भागमा अनुभव गर्न पाइनेछ ।
अभिनेता विपीन कार्की ‘बमकाजी’ को भूमिकामा रहस्यमय ढंगले फर्किने भएका छन् । उनको भूमिकाबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन । त्यसैगरी, ‘थाक खोला’ गीतमा देखिएका तीन सोल्टिनीसहित काजीको जीवनमा जोडिने चार सोल्टिनीको प्रसंग र कबड्डीको खेलले कथालाई थप रोचक बनाउने संकेत गरिएको छ । सबै पात्रलाई समेटेर कथालाई एउटा ठूलो भिडन्त अर्थात् ‘महायुद्ध’ तर्फ लैजाने संकेतले पनि दर्शकको उत्सुकता बढाएको छ ।
‘कबड्डी’ शृंखलाको चौथो फिल्मले नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइको कीर्तिमान बनाएको थियो । तर, पाँचौँ भागले उक्त रेकर्ड तोड्नैपर्ने दबाब आफूहरूलाई नरहेको निर्देशक गुरुङले बताएका छन् । यद्यपि, दशैंको अवसरमा अन्य प्रतीक्षित सिक्वेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले चुनौती भने रहेको उनले स्वीकारेका छन् । निर्माण पक्ष पुराना तथा समर्पित दर्शकको साथ पाउनेमा आशावादी छ ।
बासुरी फिल्म्सको प्रस्तुति रहने फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ । कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूले संगीत दिएका छन् ।
रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ फिल्मका निर्माता हुन् । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछन् ।
प्रेम प्राप्तिका लागि संघर्ष गर्ने काजीको कथा अब प्रेमपछिको जीवनमा कसरी अघि बढ्छ, पुराना पात्रहरूको सम्बन्धले कस्तो मोड लिन्छ र बदलिँदो मुस्ताङमा उनीहरूको जीवन कस्तो बन्छ भन्ने प्रश्नको जवाफ ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले दिने अपेक्षा गरिएको छ ।




















