इटहरी । नेपाली फिल्म ‘ऊनको स्वीटर’सँग जोडिएका कथा र पात्रहरूको संसारलाई थप विस्तार गर्ने लक्ष्यसहित निर्माण हुन लागेको नयाँ फिल्म ‘कलेजी–ऊनको स्वीटर’को छायाङ्कन सुरु भएको छ । कञ्चनजङ्घाको काखमा रहेको सिक्किमको युमथाङ उपत्यकामा शुभमुहूर्त गरेसँगै फिल्मको छायाङ्कन अघि बढाइएको हो ।

स्थानीय लामा गुरुहरूले मन्त्र उच्चारण गर्दै फिल्मको शुभारम्भ गरेका थिए । कार्यक्रममा सिक्किम फिल्म बोर्डका अध्यक्ष, कल्चरल बोर्डका अध्यक्ष, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ । छायाङ्कनको सुरुवातमा प्राप्त सहयोग, सद्भाव र आशीर्वादप्रति निर्माण टोलीले आभार व्यक्त गरेको छ ।

IMG_1019

‘ऊनको स्वीटर’ले दर्शकमाझ स्थापित गरेका पात्र र तिनका कथालाई नयाँ परिवेशमा जोड्ने प्रयासका रूपमा ‘कलेजी–ऊनको स्वीटर’लाई हेरिएको छ । निर्माण पक्षका अनुसार फिल्ममा काफ्ले, फूल, डम्बर र ईक्षासँग सम्बन्धित कथालाई अघि बढाउँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप पाटाहरू प्रस्तुत गरिनेछ ।

फिल्मको छायाङ्कन नेपालसँगै भारतका विभिन्न स्थानमा गरिने योजना छ । निर्माण टोलीले नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीलाई छायाङ्कनका लागि छनोट गरेको छ । नयाँ भूगोल र परिवेशमा फैलिने कथाले अघिल्लो फिल्मसँग जोडिएका पात्रका जीवन तथा उनीहरूका अनुभूतिलाई थप गहिराइमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।IMG_1020

छायाङ्कनको पहिलो दिन अभिनेता पियुष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको निर्माण पक्षले जानकारी दिएको छ । युमथाङ उपत्यकाको प्राकृतिक सुन्दरताबीच सुरु भएको छायाङ्कनले फिल्मको कथा र दृश्यलाई नयाँपन दिने अपेक्षा गरिएको छ ।

आर्टमाण्डुको ब्यानरमा निर्माण हुन लागेको फिल्मको निर्देशन नवीन चौहानले गर्दैछन् । अघिल्लो फिल्ममा समेटिन नसकेका कथा र पात्रका मनमा रहेका भन्न बाँकी अनुभूतिलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण टोलीले ‘कलेजी–ऊनको स्वीटर’लाई अघि बढाएको हो ।

‘कलेजी–ऊनको स्वीटर’ले ‘ऊनको स्वीटर’सँगको भावनात्मक सम्बन्धलाई निरन्तरता दिँदै दर्शकलाई नयाँ कथा र अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।