विराटनगर । चर्चित लेखक सुविन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा तयार भएको नाटक असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा मञ्चन गरिने आयोजकले जनाएको छ।
नाटकको लेखन सुविन भट्टराईले गरेका छन् भने निर्देशन सम्राट भुजेलले गरेका छन्। उपन्यास समर लभलाई नाट्यरूपमा प्रस्तुत गरिएको यस नाटकमा प्रेम, सम्बन्ध, दूरी, सम्झना र भावनात्मक उतारचढावलाई रंगमञ्चमार्फत प्रस्तुत गरिएको छ।
नाटकका निर्देशक सम्राट भुजेलका अनुसार ‘समर लभ’ प्रेमकथामा आधारित भए पनि यसले प्रेमसँगै सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गर्छ।

नाटकमा दर्शकले आफूले भोगेका वा महसुस गरेका प्रेमका विभिन्न पक्षसँग जोडिन सक्ने अपेक्षा गरिएको छ।
लेखक सुविन भट्टराईले आफ्नो चर्चित उपन्यासलाई नाटकका रूपमा मञ्चमा ल्याउन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले काठमाडौंमा केन्द्रित रहँदै आएको नाटकलाई विराटनगरसम्म ल्याउने प्रयास गरिएको बताएका छन्।
तीन समय नाटक प्रदर्शन

विराटनगरमा हुने प्रदर्शनका लागि आयोजकले दैनिक तीनवटा शोको समय निर्धारण गरेको छ। नाटक बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजेमञ्चन हुनेछ।
नाटक हेर्न चाहने दर्शकले KantipurTheatre.com मार्फत टिकट बुकिङ गर्न सक्नेछन्। आयोजकका अनुसार टिकटसम्बन्धी जानकारीका लागि ९८०२३५६१११ र ९८०२३५६११३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
नाटकमा विभिन्न कलाकारको अभिनय रहनेछ भने मञ्च व्यवस्थापन, प्रकाश, संगीत तथा अन्य प्राविधिक पक्षमा समेत ठूलो टोली संलग्न रहेको छ। काठमाडौंमा प्रस्तुत भइसकेको नाटकलाई विराटनगरका दर्शकमाझ ल्याउन लागिएको हो।
स्थान : वीरेन्द्र सभा गृह, विराटनगर
मिति : असोज १७ र १८ गते
शो समय : बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे
प्रस्तुति : कान्तिपुर थिएटर
लेखक : सुविन भट्टराई
निर्देशक : सम्राट भुजेल




















