इटहरी । कोशी प्रदेशका विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूको प्रतिभा, व्यक्तित्व र आत्मविश्वासलाई केन्द्रमा राखिएको ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करण अन्तिम चरणमा पुगेको छ ।

ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगितामा गृहिणीदेखि चिकित्सक, बैंकर, शिक्षिका, सञ्चारकर्मी, व्यवसायी, उद्यमी तथा ब्युटिसियनसम्मका १९ महिला सहभागी छन् । परम्परागत सौन्दर्य प्रतियोगिताभन्दा फरक ढंगले महिलाको क्षमता, व्यक्तित्व र सामाजिक सोचलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ ।

प्रतियोगिताअन्तर्गतको ट्यालेन्ट राउन्ड असोज ११ गते आइतबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त चरणमा सहभागीहरूले आफ्नो लुकेको प्रतिभा प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउन्डको निर्णायकमा मिस नेपालकी कोशी प्रदेश प्रमुख स्मित कार्की र नृत्यांगना प्रनिशा उदास रहेका थिए ।

55

अब प्रतियोगिताको निर्णायक चरणका रूपमा असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा ग्रान्ड फिनाले आयोजना हुँदैछ । फिनालेका लागि आयोजक तथा प्रतियोगीहरू तयारीमा जुटेका छन् ।

यस संस्करणमा चिकित्सा क्षेत्रबाट इनरुवाकी डा. उरुषा शाह र विराटनगरकी फार्मासिस्ट संगिता शाह सहभागी छन् । बैंकिङ तथा कर्पोरेट क्षेत्रबाट धनकुटाकी बैंकर जमुना दाहाल, बिर्तामोडकी बैंकर ध्रुव कुमारी गुरुङ, विराटनगरस्थित सानिमा लाइफ इन्स्योरेन्सकी शाखा प्रबन्धक भावना घिमिरे र बुढीगंगाकी कर्पोरेट अफिसर मनिका चौधरी प्रतिस्पर्धामा छन् ।

शिक्षा तथा सञ्चार क्षेत्रबाट बेलबारीकी शिक्षिका अञ्जिला चौधरी, इटहरीकी यमुना महत, रामधुनीकी सोनी थापा तथा इटहरीकी शिक्षिका एवं सञ्चारकर्मी सिर्जना राउतले सहभागिता जनाएका छन् ।

व्यवसाय तथा उद्यमशीलता क्षेत्रमा सक्रिय इटहरीकी अलिसा धिमाल र लुइशा पुडासैनी, ‘किङ्ग्स एन्ड क्विन्स फेसन वेयर’की सञ्चालिका सुषमा राई श्रेष्ठ, ग्रामथानकी ‘ग्रामथान कलेक्सन’की स्वस्तिका चौधरी, इटहरीस्थित ‘ससुरालीको अचार’की प्रोप्राइटर शोभा राउत र बेलबारीकी महिला उद्यमी कुमारी थापा पनि उपाधिको प्रतिस्पर्धामा छन् ।

2 3

त्यस्तै, इटहरीका गृहिणी अनुपा दङ्गाल, गृहिणी तथा ब्युटिसियन वर्षा गजमेर र गोठगाउँ मोरङकी ब्युटिसियन सीता वन श्रेष्ठले पनि अन्तिम १९ मा आफ्नो स्थान बनाएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा बाहिरी सौन्दर्यलाई मात्र आधार नबनाई प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा सामाजिक दृष्टिकोणलाई समेत मूल्यांकनको आधार बनाइएको छ ।

यस संस्करणको अर्को विशेष पक्षका रूपमा प्रतियोगीहरूको भिडियो डकुमेन्ट्रीलाई लिइएको छ । डकुमेन्ट्रीमार्फत प्रतियोगीहरूको व्यक्तिगत जीवन, पेशागत यात्रा, संघर्ष, उपलब्धि, रुचि तथा समाजमा उनीहरूले पुर्‍याएको योगदानलाई दर्शकमाझ प्रस्तुत गरिनेछ ।

कार्यक्रमलाई सफल बनाउन म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठको नेतृत्वमा सिइओ सजिना श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ तथा फोटो तथा भिडियोग्राफर निश्चल श्रेष्ठसहितको टोली तयारीमा जुटेको छ ।

अब असोज १९ गते हुने ग्रान्ड फिनालेले यी १९ महिलामध्येबाट तेस्रो संस्करणको ‘मिसेस पूर्वेली आइकन’को विजेता चयन गर्नेछ ।