इटहरी । उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको इटहरी सेवा केन्द्रको १४औँ वार्षिक साधारणसभा शनिबार इटहरीमा आयोजना गरिएको छ।
इटहरी उपमहानगरपालिका–४ स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित साधारणसभामा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा तथा सुपरीवेक्षण समिति, कर्मचारीलगायतको सहभागिता रहेको थियो।
साधारणसभाको अध्यक्षता संस्थाकी अध्यक्ष अनिता श्रेष्ठले गरेकी थिइन्। कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका सदस्य तथा मोबाइल व्यवसायी संघ इटहरीका अध्यक्ष बलराम बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। यस्तै, संस्थाका लेखा संयोजक देवचन्द्र शिवाकोटी, आईएमई को–अपरेटिभ इटहरी शाखा प्रमुख जनका बुढाथोकीलगायत अतिथिको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य इटहरी शाखा प्रमुख मनिषा बुढाथोकीले राखेकी थिइन्। त्यसपछि राष्ट्रिय तथा सहकारी गीत प्रस्तुत गरिएको थियो भने संस्थाका विभिन्न पदाधिकारी तथा अतिथिहरूले मन्तव्य राखेका थिए।
साधारणसभामा अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट, लेखापरीक्षकको प्रतिवेदन तथा नियुक्ति, लाभांश वितरण, सञ्चालक समितिको राजीनामा स्वीकृतलगायतका विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी संस्थाको बचत तथा ऋणका प्रकार र ब्याजदर, चल–अचल सम्पत्ति बिक्री, सञ्चालक तथा कर्मचारीको सेवासुविधा, विनियम तथा कार्यविधि संशोधन र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि नियुक्ति तथा प्रमाणीकरणलगायतका विषयसमेत साधारणसभाको छलफलका विषय रहेका छन्।
कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका सदस्य तथा मोबाइल व्यवसायी संघ इटहरीका अध्यक्ष बलराम बस्नेतले सहकारी क्षेत्रको भूमिका र सदस्यसँगको सहकार्यका विषयमा धारणा राखेका थिए। साधारणसभा अध्यक्ष अनिता श्रेष्ठको समापन मन्तव्यसँगै सम्पन्न हुने कार्यतालिका रहेको छ।




















