भोजपुर । अविरल वर्षापछि पहाडी सडकमा पहिरो र हिलोको समस्या बढ्दा भोजपुरको जनजीवन प्रभावित बनेको छ । सडक अवरुद्ध भएपछि ग्रामीण क्षेत्रमा यातायात तथा ढुवानी सेवा ठप्पजस्तै हुँदा दैनिक उपभोग्य सामग्रीदेखि बिरामीलाई उपचारका लागि अस्पताल पुर्याउनसमेत समस्या भएको छ ।
केही दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकहरू हिलाम्य भएका छन् भने ठाउँठाउँमा पहिरो खसेपछि आवागमन प्रभावित भएको हो । सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।
टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय धनराज राईका अनुसार सडकको अवस्था बिग्रिएपछि बिरामी तथा अशक्त नागरिकलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन कठिन भइरहेको छ । वर्षाका कारण ग्रामीण क्षेत्रमा यातायात सेवा नियमित हुन नसक्दा सर्वसाधारण थप समस्यामा परेका छन् ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रको षडानन्द नगरपालिका तथा दक्षिणी क्षेत्रको बैकुण्ठे हुँदै हतुवागढी र आमचोक गाउँपालिका जोड्ने सडकखण्डमा असोज ८ गतेदेखि यातायात सञ्चालनमा रोक लगाएको छ ।
त्यस्तै, मध्यपहाडी लोकमार्गमा रातको समयमा हुन सक्ने दुर्घटना तथा पहिरोको जोखिम न्यूनीकरणका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।
लगातारको वर्षाले कृषि क्षेत्रमा समेत असर पुर्याएको छ । स्थानीय किसानका अनुसार धानबालीमा क्षति पुग्नुका साथै व्यावसायिक पशुपालनमा समेत समस्या देखिएको छ ।
भोजपुर नगरपालिका–४ दावा पशुपालन कृषक एकिन्द्रबहादुर विष्टले अविरल वर्षा र हिलोका कारण धानबालीसँगै पशुपालन व्यवसाय प्रभावित भएको बताए । उनका अनुसार निरन्तर वर्षा हुँदा पशुचौपायाका लागि घाँसपात तथा दानापानीको व्यवस्थापन गर्नसमेत कठिन भइरहेको छ ।
जिल्लाका पहाडी भू–भाग तथा संवेदनशील क्षेत्रमा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
सम्भावित विपद्को व्यवस्थापन, अनुगमन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय तहका प्रतिनिधिहरू तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
प्रशासनले वर्षाका कारण जोखिम बढेको भन्दै अति आवश्यक कामबाहेक यात्रा नगर्न तथा खोलानाला र पहिरोग्रस्त क्षेत्र आसपास नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।




















