इटहरी । नेपाली चलचित्र क्षेत्रमा ठूलो स्केलको एक्सन ड्रामाका रूपमा चर्चा बटुलिरहेको चलचित्र ‘द राइज अफ साम्राज्य’ औपचारिक रूपमा छायांकनमा गएको छ। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो।
चर्चित उपन्यासकार बुद्धिसागरको कथामा निर्देशक सौरभ चौधरीले निर्देशन गरिरहेको यो चलचित्रलाई निर्माण पक्षले नेपाली चलचित्रमा नयाँ स्तरको एक्सन फिल्मका रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ। चलचित्रको अधिकांश छायांकन कोशी प्रदेशका विभिन्न स्थानमा गरिनेछ भने निर्माणका लागि करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ।

चलचित्रको मुख्य आकर्षणमध्ये यसको बलियो कलाकार टोलीलाई लिइएको छ। सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठ चलचित्रमा प्रमुख भूमिकामा देखिनेछन्।
यसअघि चलचित्रका कलाकारहरूलाई क्रमशः सार्वजनिक गर्दै आएको निर्माण पक्षले अञ्जना बराइलीलाई पनि औपचारिक रूपमा कलाकार टोलीमा समेटेको हो। अञ्जनाको भूमिका भने हालसम्म गोप्य राखिएको छ।
चलचित्रमा सौगात मल्लले विशेष चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ। उनले एउटै पात्रको २५ वर्षको उमेरदेखि ८० वर्षसम्मको जीवनयात्रा पर्दामा प्रस्तुत गर्नेछन्। यसले उनको चरित्र र अभिनयलाई चलचित्रको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ।
निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सौगात मल्ल र विजय बरालसँग काम गरिसकेका छन्। दयाहाङ राईसँग भने उनको यो पहिलो सहकार्य हो। निर्देशकका अनुसार दयाहाङलाई यसपटक दर्शकले अहिलेसम्म देख्दै आएकोभन्दा फरक चरित्रमा देख्न पाउनेछन्।

यस्तै, निर्देशक चौधरी र अभिनेता सुशील श्रेष्ठबीच करिब ६ वर्षपछि पुनः सहकार्य हुँदैछ। ‘लभ डायरीज’पछि उनीहरू पुनः एउटै प्रोजेक्टमा जोडिएका हुन्। अर्का कलाकार अमरप्रताप श्रेष्ठलाई भने चौधरीले करिब साढे दुई वर्षसम्म अभिनय प्रशिक्षण दिएर चलचित्रका लागि तयार पारेका हुन्।
निर्देशक चौधरीले अनुभवी तथा नयाँ पुस्ताका कलाकारलाई एउटै प्रोजेक्टमा जोड्न पाउँदा आफू उत्साहित रहेको बताएका छन्। उनका अनुसार चलचित्रमार्फत नेपाली एक्सन सिनेमाको प्रस्तुति र स्तरमा नयाँ प्रयोग गर्ने प्रयास गरिएको छ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। शंकर पाण्डेय कार्यकारी निर्माता तथा विश्वास बस्नेत (बेन) सह–निर्माताका रूपमा छन्। चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशन श्री श्रेष्ठ तथा मिडिया को–अर्डिनेसन सुरक्षा भट्टराईले सम्हाल्नेछन्।
चलचित्रको वितरण डीसीएनले गर्ने निर्माण पक्षले जनाएको छ। चलचित्रको कथावस्तु, अन्य कलाकार तथा प्रदर्शन मितिसहितका थप विवरण क्रमशः सार्वजनिक गरिने बताइएको छ।
ठूलो बजेट, एक्सनप्रधान कथा, चर्चित कलाकारको सहभागिता र कोशी प्रदेशका विभिन्न स्थानमा हुने लामो छायांकनका कारण ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र क्षेत्रमा प्रतीक्षित प्रोजेक्टका रूपमा अघि बढेको छ।




















