इटहरी । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले करिब साढे तीन मिनेट लामो टिजर युट्युबमार्फत सार्वजनिक गर्दै चलचित्रप्रति दर्शकको कौतुहलता थप बढाएको छ।
टिजरमा चलचित्रका प्रमुख पात्र बिके अर्थात् विजय बरालको कथा र उनको एआईसँगको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। त्यससँगै दयाहाङ राईको काजी तथा सिर्जना गुरुङको मैया पात्रको प्रवेशले कथालाई नयाँ मोडतर्फ लैजाने संकेत गरेको छ।

टिजरको अर्को आकर्षण बनेका छन् अभिनेता विपीन कार्की। उनको पात्रको प्रवेशसँगै टिजरको वातावरण थप रोचक बनेको छ। विशेषगरी उनको संवाद प्रस्तुत गर्ने शैलीले दर्शकको ध्यान तान्ने देखिन्छ। अन्त्यतिर रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंगिन्छ।
सार्वजनिक टिजर हेर्दा चलचित्रको कथा अघिल्लो शृङ्खला ‘कबड्डी ४ः द फाइनल म्याच’ समाप्त भएको बिन्दुबाटै अघि बढेको संकेत मिल्छ। निर्देशक गुरुङले पनि नयाँ चलचित्रमा अघिल्लो शृङ्खलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।
चलचित्रमा विजय बराल, विपीन कार्की र नयाँ मैया पात्रमा देखिएकी सिर्जना गुरुङका भूमिकालाई विशेष रूपमा प्रस्तुत गरिएको छ। यद्यपि ‘कबड्डी ४’की प्रमुख अभिनेत्री मिरुना मगरको भूमिकालाई भने निर्माण पक्षले अहिलेसम्म गोप्य राखेको छ। यसअघि सार्वजनिक पोस्टरमा पनि उनलाई देखाइएको थिएन। टिजरमा समेत उनको मैया पात्रलाई लुकाइएपछि उनको भूमिकालाई लिएर दर्शकमाझ थप जिज्ञासा उत्पन्न भएको छ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। यसबाहेक पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजारलगायत कलाकारको पनि अभिनय रहेको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता हुन्।

चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। मुख्य सहायक निर्देशकका रूपमा सोमनाथ खनाल र तारानाथ न्यौपाने रहेका छन्।
नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।
‘कबड्डी’का अघिल्ला चारै शृङ्खलाले व्यावसायिक सफलता हासिल गरेका कारण पाँचौँ शृङ्खलामाथि दर्शकको अपेक्षा पनि उच्च छ। यही सफलताको शृङ्खलालाई निरन्तरता दिने चुनौतीका बीच ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्षको दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।




















