इटहरी । सौन्दर्य, आत्मविश्वास र प्रतिभाको प्रतिस्पर्धा ‘मिस युनिफाइड नेपाल २०२६’ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा असोज ३ गते शनिबार आयोजित अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रस्तुति दिँदै आयुषा श्रेष्ठले ‘मिस युनिफाइड नेपाल २०२६’ को उपाधि जितेकी छन्।

मन्सु मेकअप स्टुडियोको ब्यानरमा आयोजना गरिएको प्रतियोगिताको फिनालेमा सलिना गुरुङ फस्ट रनरअपयुना कटुवाल सेकेन्ड रनरअप घोषित भए। प्रतियोगितामा रिधिशा माझीले अर्गनाइजर च्वाइसको उपाधि प्राप्त गरिन्।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले विभिन्न चरणमा आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति तथा प्रतिभा प्रदर्शन गरेका थिए। अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीमध्येबाट निर्णायक मण्डलले विजेता तथा अन्य उपाधिका लागि छनोट गरेको आयोजकले जनाएको छ।

ग्रान्ड फिनालेको निर्णायक मण्डलमा कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर तथा मोडल इशा थापा, मोडल तथा अभिनेता दिनेश कोइराला र टीएफएन रनवेकी ब्रान्ड एम्बेसडर विर्षना लिम्बू रहेका थिए।

निर्णायकमध्येका दिनेश कोइराला ‘मिस्टर भ्याली २००७’ का सेकेन्ड रनरअप समेत हुन्। उनी हाल नेपाल चलचित्रकर्मी महासंघका महासचिवको जिम्मेवारीमा छन्।

फिनाले कार्यक्रमकै अवसरमा ‘सी-डर्मा’ प्रडक्टको सफ्ट लन्चसमेत गरिएको थियो। सौन्दर्य प्रतियोगितासँगै नयाँ सौन्दर्य सामग्रीको सार्वजनिक परिचय गराइएको कार्यक्रमले थप आकर्षण बढाएको आयोजकको भनाइ छ।

कार्यक्रममा स्थानीय दर्शक, फेशन तथा सौन्दर्य क्षेत्रका व्यक्तित्व र फेशनप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रतियोगिताले युवतीहरूको सौन्दर्यसँगै आत्मविश्वास, व्यक्तित्व विकास र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।