इटहरी । नेपाली फिल्ममा एक्सन र मास मनोरञ्जनको नयाँ स्वाद पस्कने तयारीमा रहेको फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण, निर्देशन तथा मुख्य भूमिकामा निखिल उप्रेती रहेको फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलरले एक्सन, द्वन्द्व र बदलाको कथालाई केन्द्रमा राखेको संकेत गरेको छ।

शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। ओएसआर डिजिटलमार्फत युट्युबमा सार्वजनिक ट्रेलरमा तीव्र एक्सन सिक्वेन्स, भव्य दृश्य र आकर्षक द्वन्द्वलाई प्राथमिकता दिइएको देखिन्छ।
ट्रेलरमा रहेका “तू तबाही है, मैं विनाशक हूँ” र “नो रिभाइभ, नो अन, सिर्फ एक्सन” जस्ता संवादले फिल्मको कथा आक्रामक द्वन्द्व र प्रतिशोधको यात्रातर्फ केन्द्रित रहेको झल्काउँछ।
निखिल उप्रेतीले आफ्नो अघिल्लो फिल्म ‘भैरव’मा प्रस्तुत गरेको एक्सन अवतारलाई ‘आचार्य’मा थप फराकिलो बनाएका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले सीमित नेपाली बजेट र स्वदेशी जनशक्तिबाट पनि अन्तर्राष्ट्रिय स्तरको एक्सन फिल्म निर्माण गर्न सकिने बताए।

‘आचार्य’मा नेपाली कलाकारसँगै दक्षिण भारतीय र बलिउड क्षेत्रका कलाकारलाई समेत समेटिएको छ। फिल्ममा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको विशेष अभिनय रहेको छ।
त्यस्तै, बलिउड कलाकार दीपराज राणासँगै नेपाली कलाकारहरू प्रमोद अग्रहरी, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला र जेसिका पोखरेललगायतको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममार्फत पूर्णिका सिजापती र सजिना श्रेष्ठले नेपाली फिल्म क्षेत्रमा नायिकाका रूपमा डेब्यु गर्दैछन्।

उनका अनुसार नेपाली दर्शकलाई आफ्नै मौलिक सामग्रीमार्फत उच्चस्तरको मनोरञ्जन दिन सकिए नेपाली फिल्मको बजार विस्तार गर्न सकिनेछ। उनले ‘आचार्य’मा कथा, एक्सन र प्रस्तुतिका हिसाबले दर्शकले नयाँपन पाउने दाबीसमेत गरे।
अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता
एक्सनदेखि प्राविधिक पक्षसम्म बलियो टिम
फिल्मको द्वन्द्व निर्देशन शुक्रराज शाहले गरेका हुन्। छायांकनतर्फ सौरभ लामा, मनु विक र नवराज थापा रहेका छन्। फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् भने ट्रेलर तथा टिजरको सम्पादन सन्देश शाहले गरेका छन्।
निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा बनेको ‘आचार्य’ असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।
नेपालमा फिल्मको वितरण मनोज राठीले गर्नेछन् भने विदेशमा प्रदर्शनको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले सम्हाल्नेछ।
ट्रेलरले देखाएको एक्सन र भव्य प्रस्तुतिले ‘आचार्य’लाई नेपाली एक्सन फिल्मको बजारमा नयाँ किसिमको प्रयोगका रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको अपेक्षा छ।




















