इटहरी । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाएको ‘कबड्डी’ शृंखलाको पाँचौँ भाग प्रदर्शनका लागि तयार भएको छ। ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको हो। निर्माण पक्षले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्म बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको हो। यसपटकको कथा अघिल्लो शृंखलामा टुंगिन नसकेका पात्र र कथालाई थप अगाडि बढाउने उद्देश्यले तयार गरिएको निर्माण पक्षको भनाइ छ। ‘कबड्डी ४’ लाई नै अन्तिम भागका रूपमा प्रस्तुत गरिए पनि पात्रहरूको कथा अझै बाँकी रहेकाले पाँचौँ संस्करण निर्माण गरिएको निर्देशक गुरुङले बताएका छन्।

फिल्मको फर्स्टलुक पोस्टरमा शृंखलाका चर्चित पात्र काजी, बीके र छन्त्याल देखिएका छन्। पोस्टरमा दयाहाङ राईलाई हातमा क्रिकेट ब्याट लिएर सोचमग्न अवस्थामा प्रस्तुत गरिएको छ भने विजय बराल र बुद्धि तामाङ उनलाई गम्भीरतापूर्वक नियालिरहेको देखिन्छ। पोस्टरले फिल्मको कथालाई लिएर दर्शकमाझ थप कौतूहल सिर्जना गरेको छ।

‘कबड्डी ५’ मा यसअघिका परिचित कलाकारसँगै केही नयाँ अनुहार पनि जोडिएका छन्। दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ र कमलमणि नेपाललगायत कलाकारको अभिनय रहेको छ।

फिल्ममा रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेका छन् भने सागर राज कार्यकारी निर्माता छन्। संगीततर्फ कालीप्रसाद बास्कोटा, आधा सुर र झुमा लिम्बू जोडिएका छन्। छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ।

यसअघि ‘कबड्डी’का चारवटै शृंखला दर्शकमाझ लोकप्रिय बनेका थिए। अब पाँचौँ भागले अघिल्ला शृंखलाबाट स्थापित पात्रहरूको यात्रालाई कुन मोडमा पुर्‍याउँछ भन्ने चासोका बीच कात्तिक ६ गतेदेखि ‘कबड्डी ५’ दर्शकमाझ आउने भएको छ। फिल्मको नेपाल वितरण ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले तथा विदेश वितरण सेभेन सिज इन्टरनेसनलले गर्ने जनाइएको छ।