इटहरी । इटहरीमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारीसहित दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का ३४ वर्षीय सागर रेग्मी र सोही स्थानका २९ वर्षीय पारस थापा रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत थिए भने उनी प्रमुख जिल्ला अधिकारीको स्वकीयका रूपमा जिम्मेवारीमा थिए।

प्रहरीका अनुसार प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकलमा इटहरीबाट इनरुवातर्फ जाँदै गरेका उनीहरू बिहान करिब २ः५० बजे इटहरी उपमहानगरपालिका–७ बालग्राम क्षेत्रमा दुर्घटनामा परेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई प्रहरी टोलीले उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। उपचारका क्रममा रेग्मीको बिहान ४ः५२ बजे र थापाको ५ः११ बजे मृत्यु भएको चिकित्सकले पुष्टि गरेका थिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले घटनाको पुष्टि गर्दै दुवैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको जानकारी दिए।

IMG_9641

उनका अनुसार घटनाको खबर पाएपछि आफू अस्पताल पुगेका थिए। घटनाले आफूलाई स्तब्ध बनाएको पनि उनले बताए।

अर्का मृतक थापा पनि यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीमा करार सेवामा कार्यरत रहेको र केही समयअघि मात्रै राजीनामा दिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा थापा हेल्मेट लगाएको अवस्थामा भेटिएको र रेग्मी मोटरसाइकलको पछाडि सवार रहेको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।

दुर्घटना कसरी भयो भन्नेबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।