इटहरी । बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसीको अवसर पारेर नेपाली फिल्म ‘बा : एक योद्धा’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म अब असोज ९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुनेछ।
भोटेकोशीमा आएको बाढीका कारण यसअघि तय गरिएको प्रदर्शन मिति स्थगित भएको थियो। निर्माण पक्षले त्यसपछि बाढीपीडितको राहतका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै फिल्मलाई मंसिर २४ गते प्रदर्शन गर्ने तयारी गरेको थियो।
तर वितरक तथा प्रदर्शकहरूसँगको छलफलपछि निर्माण टिमले फिल्मलाई मंसिरमा नभई असोजमै प्रदर्शन गर्ने निर्णय गरेको हो। निर्माता वसन्त लम्सालले वितरक तथा प्रदर्शकको सुझावअनुसार असोज ९ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको बताए।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।
फिल्मले नेपाली समाजमा बुबाले आफ्ना सन्तानको भविष्य निर्माणका लागि गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको केन्द्रमा राखेको छ। पारिवारिक सम्बन्ध र पिताको भूमिकालाई मुख्य विषय बनाइएको फिल्मले दर्शकसँग भावनात्मक रूपमा जोडिने अपेक्षा निर्माण पक्षको छ।
चर्चित संगीतकार, रचनाकार तथा गायक हरि लम्सालले यही फिल्ममार्फत फिचर फिल्म निर्देशनमा डेब्यु गर्दैछन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै रहेको छ।
फिल्ममा वसन्त लम्साल निर्माता, अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्।
फिल्मको देशव्यापी वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रिब्युसनले लिएको छ। निर्माण पक्षले असोज ९ गतेदेखि दर्शकको साथ र सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।




















