इटहरी । इटहरी उपमहानगरपालिकाबाट करिब २५ वर्ष लामो सेवायात्रा पूरा गरी अवकाश प्राप्त गरेकी चन्द्रा देवी पौडेल चौलागाईले आफूले एक वर्षअघि गरेको प्रण पूरा गर्दै सरकारको राहत तथा पुनर्स्थापना कोषमा २१ हजार ८४५ रुपैयाँ जम्मा गरेकी छन्।
गत वर्ष २०८२ भदौ २३ र २४ गते भएको Gen Z आन्दोलन र त्यसपछिका घटनाले देशलाई गहिरो पीडामा पारेको स्मरण गर्दै चौलागाईले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलीस्वरूप उक्त रकम सहयोग गरेकी हुन्।
उनका अनुसार, आन्दोलनका क्रममा देशभर नारा र प्रदर्शनसँगै भएका हिंसात्मक तथा विध्वंसात्मक घटनाले सार्वजनिक संरचनामात्र नभई आम नागरिकको मनोभावनासमेत गहिरो रूपमा प्रभावित बनाएको थियो। त्यही घटनापछि २०८२ असोज ५ गते इटहरी उपमहानगरपालिकाबाट उनको करिब २५ वर्ष लामो सेवायात्राको अनिवार्य अवकाश भएको थियो। तर अवकाशको दिन उनको लागि उत्सवपूर्ण बन्न सकेन।
देश शोकमा रहेका बेला वरिपरि जलेका संरचना र आन्दोलनबाट उत्पन्न पीडाले उनको अवकाशको खुसीलाई समेत ओझेलमा पारेको उनले बताएकी छन्। कार्यालयसँग जोडिएका संरचनाहरू खरानी बनेको दृश्य र Gen Z पुस्ताका युवाको रगतले सडक राताम्य बनेको पीडाले आफूलाई गहिरो रूपमा छोएको चौलागाईको भनाइ छ।
त्यही भावनात्मक परिस्थितिमा उनले आफूले खाइपाई आएको तलबको आधा महिनाबराबरको रकम सरकारको राहत तथा पुनर्स्थापना कोषमा जम्मा गर्ने प्रण गरेकी थिइन्।
Gen Z आन्दोलनको करिब एक वर्षपछि देशले आज शहीद दिवसका रूपमा शहीदहरूको सम्झना गरिरहेका बेला रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीले पुनः धेरै नागरिकको जीवन प्रभावित बनाएको छ। यसैबीच करिब एक वर्षपछि आफूले कार्यालयबाट प्राप्त गर्नुपर्ने सेवासुविधा प्राप्त भएपछि चौलागाईले एक वर्षअघि गरेको प्रण पूरा गरेको बताएकी छन्।
उनले शहीदहरूको पवित्र सम्झना गर्दै र उनीहरूले देखेको सपना पूरा होस् भन्ने कामनासहित रु. २१ हजार ८४५ (एक्काइस हजार आठ सय पैँतालीस रुपैयाँ) सरकारको राहत तथा पुनर्स्थापना कोषमा जम्मा गरेकी हुन्।
चौलागाईले उक्त रकम ठूलो नभए पनि आफ्नो जीवनका लागि विशेष अर्थ राख्ने बताएकी छन्।
उनले भनेकी छन्, “यो रकम केवल पैसा होइन। यसमा २५ वर्षको सेवाको पसिना छ, एउटा कर्मचारी जीवनको अन्तिम कमाइको अंश छ, एक वर्षअघि गरिएको प्रण छ, शहीदहरूप्रतिको श्रद्धा छ, पीडितहरूप्रतिको संवेदना छ र नेपाल फेरि उठोस् भन्ने एउटा नागरिकको सानो सपना छ।”




















