इटहरी । इटहरी जेसीजले शाखाका पदाधिकारी तथा सदस्यहरूको वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको ‘Accounting and Financial Management Training’ सम्पन्न भएको छ।
इटहरीस्थित होटल इनटुरिस्ट प्यालेसमा आयोजित तालिममा इटहरी जेसीजका पदाधिकारी, सदस्य तथा पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो। तालिममा संस्थागत लेखा प्रणाली, आर्थिक अनुशासन, वित्तीय व्यवस्थापन तथा संस्थाको आर्थिक कारोबारलाई व्यवस्थित बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा CA आशिष अग्रवालले प्रशिक्षक तथा मिलन कार्कीले सह–प्रशिक्षकका रूपमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। तालिममा जेसीजको नियमित गतिविधि सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा तथा वित्तीय व्यवस्थापनका व्यावहारिक पक्षमा समेत जानकारी दिइएको थियो।
इटहरी जेसीजका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनेटर राजेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा इटहरी जेसीजका पूर्व अध्यक्षज्यूहरू, वर्तमान पदाधिकारी तथा सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा तालिमको उद्देश्य, वित्तीय पारदर्शिता र संस्थागत आर्थिक व्यवस्थापनको महत्वबारे चर्चा गरिएको थियो। इटहरी जेसीजले नेतृत्व विकाससँगै संस्थागत कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




















