इटहरी । नेपाल जेसीजको आह्वानमा इटहरी जेसीजले केही दिनदेखि सञ्चालन गर्दै आएको राहत सामग्री संकलन अभियानबाट करिब १२ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी बुधबार गन्तव्यतर्फ पठाइएको छ।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले इटहरी जेसीजले तीनदिने राहत सामग्री संकलन अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा संकलन भएका खाद्यान्न, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री सम्बन्धित प्रभावित तथा पीडित परिवारसम्म पुर्‍याउने उद्देश्यले गन्तव्यतर्फ पठाइएको इटहरी जेसीजले जनाएको छ।

राहत संकलन अभियानमा स्थानीय नागरिकदेखि विभिन्न संघसंस्था, व्यवसायी तथा सामाजिक संस्थाहरूले उत्साहजनक सहभागिता जनाएका थिए। विराटनगर जेसीज, दुहबी जेसीज, डाइनामिक बेबी सप, तविषी कलेक्सन, बिटिएम डान्स सेन्टर, द व्यायामशाला लगायत दर्जनौँ संघसंस्था तथा व्यक्तिहरूले स्वतःस्फूर्त रूपमा राहत सामग्री उपलब्ध गराएका थिए।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा प्राप्त सहयोगलाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण तथा व्यवस्थापन गरी गन्तव्यतर्फ पठाइएको इटहरी जेसीजले जनाएको छ।

att.q0azOqwFPz6CLjcTYV7xzQbSeAhMVc50_DTxaFFjRnY


राहत सामग्री संकलन तथा व्यवस्थापन अभियानमा संयोजक जेसी प्रदोष ढकाल, सहसंयोजक जेसी जीवन बराल, महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) र अध्यक्ष जेसी मिसन पराजुली सहित इटहरी जेसीज परिवारका सदस्यहरू सक्रिय रूपमा खटिएका थिए।

इटहरी जेसीजका अनुसार विपद्को समयमा प्राप्त भएको सहयोगलाई वास्तविक पीडितसम्म पुर्‍याउनु अभियानको मुख्य उद्देश्य हो। संकलित राहत सामग्री सम्बन्धित क्षेत्रका प्रभावित परिवारलाई आवश्यकताका आधारमा वितरण हुने जनाइएको छ।

अभियानमा सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्ति, संघसंस्था, व्यवसायी, सामाजिक संस्था तथा शुभेच्छुकप्रति इटहरी जेसीजले आभार व्यक्त गरेको छ। विपद्को समयमा मानवीय सेवाका लागि हातेमालो गर्ने सबैको सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै जेसीजले आगामी दिनमा समेत सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

इटहरी जेसीजले विपद्को समयमा सहयोग तथा मानवीय सेवामा जोडिने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्दै संकलित राहत सामग्री पारदर्शी र प्रभावकारी रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ।