इटहरी । बालबालिकाभित्र लुकेका प्रतिभा, आत्मविश्वास र बौद्धिक क्षमतालाई मञ्चमार्फत उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘जुनियर फेस अफ सुनसरी’ दोस्रो संस्करणको ग्रान्ड फिनाले सम्पन्न भएको छ।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको अन्तिम प्रतिस्पर्धामा गर्ल्सतर्फ झुम्काकी सान्वी गिरी र ब्वाइजतर्फ इटहरीका नुबाहाङ लिम्बूले उपाधि जितेका छन्। विजेता दुवैले २५/२५ हजार रुपैयाँ नगदसहित अवार्ड, क्राउन तथा अन्य पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको फाइनल चरणमा इटहरी, झुम्का, इनरुवा र कालाबञ्जार क्षेत्रका ४२ जना बालबालिका सहभागी थिए। गर्ल्सतर्फ इटहरीकी समृद्धि सुवेदी फस्ट रनरअप तथा झुम्काकी सुप्रिया बस्नेत सेकेन्ड रनरअप बने। ब्वाइजतर्फ इटहरीका पुकार पौडेल फस्ट रनरअप र कालाबञ्जारका सोयल राई सेकेन्ड रनरअप घोषित भए।

20dbd0a8-85c3-4022-bd94-eb207d6b1f92

फस्ट रनरअपले १५/१५ हजार र सेकेन्ड रनरअपले १०/१० हजार रुपैयाँ नगदसहित क्राउन, ट्रफी र अन्य पुरस्कार प्राप्त गरे। ग्रान्ड फिनालेको निर्णायकमा दिनेश कोइराला, रोनक अग्रवाल र सेनोरिटा मगर रहेका थिए।

सौन्दर्यसँगै व्यक्तित्व विकासमा जोड

आयोजक एल एण्ड सी मोडल एजेन्सी प्रा.लि.का अनुसार प्रतियोगितालाई केवल सौन्दर्य प्रदर्शनको कार्यक्रमका रूपमा नभई बालबालिकाको व्यक्तित्व, आत्मविश्वास र सामाजिक चेतना विकास गर्ने मञ्चका रूपमा अघि बढाइएको हो।

फाइनलमा पुगेका प्रतिस्पर्धीलाई व्यक्तित्व विकास, सार्वजनिक रूपमा बोल्ने कला तथा योगासम्बन्धी प्रशिक्षण दिइएको थियो। बालबालिकाको सुरक्षासँग सम्बन्धित संवेदनशील विषय ‘गुड टच–ब्याड टच’ बारे समेत सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

e74bb362-ba50-4751-8e79-467005d7a3bc

कार्यक्रमको व्यवस्थापनमा प्रतियोगिताका सीईओ दीपक गिरी र इभेन्ट म्यानेजर सूर्य गिरीले जिम्मेवारी सम्हालेका थिए। मिडिया कोअर्डिनेटरमा सुवास संकल्प श्रेष्ठ, मेकअप आर्टिस्टमा मन्सु बस्नेत, इभेन्ट सपोर्टरमा मनिका खनाल, ड्रेस डिजाइनरमा कृषा गिरी तथा फोटोग्राफरमा ईजन तामाङ र दिनेश श्रेष्ठ रहेका थिए।

प्रतिस्पर्धीलाई असिस्टेन्ट कोरियोग्राफरका रूपमा सुनिता बस्नेत र सुभेक्क्षा मगराईले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा परीकला फोटोग्राफीले फोटोग्राफी तथा भिडियोग्राफी पार्टनर र परीकला न्युजले मिडिया पार्टनरका रूपमा सहकार्य गरेका थिए।

कोशी प्रदेशको फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय एल एण्ड सी मोडल एजेन्सीले यसअघि ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’, ‘मिस धरान सुपर आइकन’ र ‘फेस अफ पूर्व’ लगायतका विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ। आयोजकले यस्ता कार्यक्रममार्फत बालबालिकामा रहेको प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई आत्मविश्वासी र सक्षम बनाउन निरन्तर अवसर प्रदान गर्ने जनाएको छ।