इटहरी । नेपाली समाजको पारिवारिक सम्बन्ध, संस्कार र मौलिक संस्कृतिलाई कथाको केन्द्रमा राखेर निर्माण हुन लागेको नेपाली फिल्म ‘रत्यौली’को छायांकन औपचारिक रूपमा सुरु भएको छ।
मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको आज बिहान काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त पूजा सम्पन्न गर्दै छायांकन प्रारम्भ गरिएको हो। निर्माण पक्षका अनुसार पहिलो चरणमा दुई दिनसम्म काठमाडौंका विभिन्न स्थानमा फिल्मका दृश्यहरू छायांकन गरिनेछ।
काठमाडौंको सेड्युल पूरा गरेपछि फिल्मको टोली दोलखाको जिरीतर्फ प्रस्थान गर्नेछ। जिरीमा करिब एक महिनासम्म फिल्मको मुख्य छायांकन सञ्चालन हुने निर्माण पक्षले जनाएको छ। प्राकृतिक सौन्दर्यसँगै स्थानीय परिवेश र संस्कृतिलाई समेत फिल्ममा समेटिने अपेक्षा गरिएको छ।
नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने ‘रत्यौली’लाई अभिनेत्री पूजा शर्माले प्रस्तुत गरेकी हुन्। फिल्मको निर्माण सुरज आचार्यले गर्दैछन्।
फिल्ममा विजय बराल, पूजा शर्मा र लक्ष्मी बर्देवासहित अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापालगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको दृश्य पक्षलाई आकर्षक बनाउन हरि हुमागाईं र उत्तम हुमागाईंले डीओपीको जिम्मेवारी सम्हालेका छन्। संगीततर्फ लोकप्रिय संगीतकार अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ।
त्यस्तै, सुनिल निउरे मुख्य सहायक निर्देशक तथा दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन्।
पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र नेपाली मौलिक संस्कृतिको कथा प्रस्तुत गर्ने लक्ष्य लिएको ‘रत्यौली’को प्रदर्शन मिति समेत तय भइसकेको छ। निर्माण पक्षले फिल्मलाई आगामी फागुन २१ गतेदेखि दर्शकमाझ ल्याउने घोषणा गरेको छ।




















