भोजपुर । एउटै रुद्राक्षको दानाबाट लाखौँ रुपैयाँसम्म आम्दानी हुन थालेपछि भोजपुरका किसान व्यावसायिक रुद्राक्ष खेतीतर्फ थप आकर्षित हुन थालेका छन् । जिल्लाको बेँसी क्षेत्रमा यस वर्षका रुद्राक्षका दाना टिप्न सुरु भएसँगै किसानले बिक्री–वितरणसमेत थालेका छन् ।
रुद्राक्ष खेती भोजपुरका किसानका लागि कम मिहिनेतमा तुलनात्मक रूपमा राम्रो आम्दानी दिने बालीका रूपमा स्थापित हुँदै गएको छ । विशेषगरी राम्रो आकार, स्पष्ट मुख, आकर्षक बनोट र दुर्लभ जातका रुद्राक्षले बजारमा उच्च मूल्य पाउने गरेका छन् ।
रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब एक अर्ब रुपैयाँ बराबरको रुद्राक्ष कारोबार भएको थियो । जिल्लामा वार्षिक करिब ११ लाख किलोग्राम रुद्राक्ष उत्पादन हुने गरेको उनले बताए ।
उनका अनुसार गुणस्तरीय र दुर्लभ मुख भएका रुद्राक्षका एउटै दानाबाट समेत किसानले लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यही कारण पछिल्लो समय युवापुस्तासमेत रुद्राक्ष खेती तथा व्यवसायमा आकर्षित हुँदै गएको चापागाईँको भनाइ छ । राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्ष उत्पादन भए किसानले एउटै दानाबाट धेरै राम्रो आम्दानी लिन सक्छन्,” उनले भने, “त्यसैले पछिल्लो समय रुद्राक्ष खेतीप्रति किसानको आकर्षण बढेको छ ।
दिङ्लाका किसानको मुख्य आम्दानी रुद्राक्ष
षडानन्द नगरपालिकाअन्तर्गतको दिङ्ला क्षेत्रका अधिकांश स्थानीयका लागि रुद्राक्ष मुख्य आम्दानीको माध्यम बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
व्यवसायी सङ्घका अनुसार भोजपुरमा ३० देखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध छन् । दिङ्ला क्षेत्रका किसानले मात्रै रुद्राक्षबाट वार्षिक न्यूनतम एक लाखदेखि अधिकतम ६० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
षडानन्द नगरपालिका–१२ का किसान छत्र दमाईले रुद्राक्ष खेतीबाट राम्रो आम्दानी लिन सकिने बताए । उनका अनुसार गुणस्तरीय र दुर्लभ दाना उत्पादन गर्न सके एउटै सिजनमा ठूलो रकम हात पार्न सकिन्छ । रुद्राक्षको मूल्य भने सबै दानाको समान हुँदैन । दानामा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा ‘मुख’ निर्धारण गरिन्छ । मुखसँगै दानाको आकार, तौल, गुणस्तर, बनोट र दुर्लभताले यसको मूल्य निर्धारण गर्ने किसान बताउँछन् ।
षडानन्दका किसान पुष्पबहादुर तामाङका अनुसार एउटै बोटमा उत्पादन भएका रुद्राक्षका दानाको समेत मूल्य फरक–फरक हुन्छ । बगानमा उत्पादन हुने सबै दानाको मूल्य एउटै हुँदैन,” उनले भने, “स्पष्ट मुख देखिने, राम्रो आकार भएका र आकर्षक बनोटका दानाले बजारमा बढी मूल्य पाउने गरेका छन् ।
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष
धार्मिक तथा आध्यात्मिक महत्वका कारण रुद्राक्षको माग नेपालमा मात्र नभई विदेशमा समेत उच्च रहेको व्यवसायी बताउँछन् । दिङ्ला क्षेत्रमा उत्पादन हुने रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी घरघरमै पुग्ने गरेका छन् । भोजपुरमा उत्पादन हुने रुद्राक्षको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको व्यवसायी बताउँछन् । खाँदबारीबाट रुद्राक्ष तराईका विभिन्न जिल्ला हुँदै काठमाडौँ पुग्ने र त्यसपछि चीन तथा भारतसम्म निर्यात हुने गरेको छ ।
रुद्राक्षको बजार विस्तारसँगै किसानले नयाँ बिरुवा लगाउने र पुराना बगान संरक्षण गर्ने क्रमसमेत बढाएका छन् । व्यावसायिक खेती विस्तार हुँदा गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना भएको स्थानीय किसानको भनाइ छ ।
यी क्षेत्रमा हुँदैछ रुद्राक्ष खेती
भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत दिङ्ला, नेपालेडाँडा, कुदाकाउले, देउराली, साम्पाङ, मूलपानी, केउरेनीपानी र झ्याउपोखरी क्षेत्रमा रुद्राक्ष खेती हुँदै आएको छ । त्यस्तै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, अरुण गाउँपालिकाका प्याउली, जरायोटार र सिक्रेटार तथा पौवादुङमा गाउँपालिकालगायत क्षेत्रमा पनि रुद्राक्ष खेती विस्तार भइरहेको छ ।
समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइसम्मको भूभाग रुद्राक्ष खेतीका लागि उपयुक्त मानिन्छ । भोजपुरको भौगोलिक अवस्था र हावापानी रुद्राक्ष उत्पादनका लागि अनुकूल भएकाले जिल्लामा यसको व्यावसायिक सम्भावना अझै ठूलो रहेको जानकारहरू बताउँछन् ।
रुद्राक्षको बढ्दो बजार, उच्च मूल्य र स्थानीय हावापानीको अनुकूलताका कारण भोजपुरमा यो खेती किसानको आम्दानी बढाउने महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ ।




















