विराटनगर । अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’मा आधारित नाटकको कोशी प्रदेश विशेष मञ्चनअन्तर्गत विराटनगरमा आज प्रिमियर शो सम्पन्न भएको छ। आरोहण गुरुकुल विराटनगरमा भएको प्रिमियरसँगै नाटकको नियमित मञ्चन भोलि भदौ १२ गतेदेखि सुरु हुँदैछ।
‘सेतो धरती’ भदौ १२, १३ र १४ गते तीन दिनसम्म आरोहण गुरुकुल विराटनगरमा मञ्चन हुनेछ। काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँसम्मको कीर्तिमानी शो पूरा गरिसकेको नाटक पहिलोपटक कोशी प्रदेशका दर्शकमाझ प्रस्तुत हुन लागेको हो।
भदौ १२ गते दिउँसो १२ बजे र अपराह्न ३ बजे शो हुने आयोजकले जनाएको छ। सिटअनुसार टिकटको मूल्य ३००, ५००, ७०० र १ हजार रुपैयाँ निर्धारण गरिएको छ। करिब १ घण्टा ४० मिनेट लामो नाटकको टिकट कान्तिपुर थिएटरको वेबसाइटमार्फत ई–सेवा तथा खल्तीबाट बुक गर्न सकिने व्यवस्था गरिएको छ।

कोशी प्रदेशको इलामकी ७ वर्षीया बाल कलाकार एड्रीन धमालाको मुख्य भूमिका रहेको नाटकलाई सुन्दर धितालले परिकल्पना तथा निर्देशन गरेका छन्। संगीत निर्देशन अनुप तिमिल्सिना, सेट डिजाइन सागर बीसी र लाइट डिजाइन दिपेश गजुरेलको रहेको छ। नाटकको निर्माण तथा बजारीकरण कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीले गरेका हुन्।
नाटकमा गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी, नितेश लोहार, विकल्प ओली, रविन पुन मगर, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, आराध्या दाहाल, तेजस्वी शर्मा, स्वीकृति पन्त, सुप्रज्ञा शर्मा र वर्षा भण्डारालगायत कलाकारले विभिन्न पात्रमा अभिनय गरेका छन्।
काठमाडौंमा मञ्चन हुँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, विभिन्न मन्त्री, सांसद, साहित्यकार तथा वरिष्ठ कलाकार र रंगकर्मीले नाटक अवलोकन गरेका थिए। नाटकले सामाजिक तथा भावनात्मक विषयवस्तुलाई मञ्चमार्फत प्रस्तुत गर्दै दर्शकको प्रशंसा पाउँदै आएको निर्माण पक्षको दाबी छ।

विराटनगरमा सीमित शो मात्र रहेकाले कोशी प्रदेशका विभिन्न सहर तथा जिल्लाका दर्शकलाई अग्रिम टिकट बुकिङ गरी नाटक हेर्न आयोजकले आग्रह गरेको छ।
विराटनगर मञ्चनका लागि काठमाडौंस्थित ३५ जना कलाकारको टोलीसहित लेखक अमर न्यौपाने, सञ्चारकर्मी टीकाराम यात्री तथा कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका सीईओ प्रकाश पुरीसमेत विराटनगर आएका छन्।
विराटनगरपछि ‘सेतो धरती’ चितवन र पोखरामा समेत मञ्चन हुने बताइएको छ।




















