भोजपुर । किसानले उत्पादन गरेको रायो र मूलाको बजार नपाउने समस्या समाधान गर्दै व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले उत्पादनअघि नै खरिद सम्झौता गरेको छ । गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि, भोजपुरसँग न्यूनतम समर्थन मूल्य निर्धारण गरी ५०० टन रायो र ५०० टन मूला खरिद गर्ने सम्झौता गरेको हो ।

किसानलाई उत्पादनमा मात्र सीमित नराखी उत्पादित कृषि उपजको बजारसमेत सुनिश्चित गर्नुपर्ने भन्दै गाउँपालिकाले रायो र मूलाखेतीलाई प्राथमिकतामा राखेको जनाएको छ । गाउँपालिकाले किसानलाई उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ । कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार किसानले उत्पादन गरेपछि बजार खोज्नुपर्ने अवस्था अन्त्य गर्न उत्पादनअघि नै खरिदकर्तासँग सम्झौता गरिएको हो । किसानलाई उत्पादनमा मात्र नभएर उत्पादित वस्तुको बजार सुनिश्चिततामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसैले उत्पादन गर्नुअघि नै खरिद गर्ने पक्षसँग सम्झौता गरेका हौँ।’

खरिद सम्झौताले आफ्नो उत्पादन बिक्री हुने सुनिश्चितता दिलाउने भएकाले किसानलाई व्यावसायिक खेतीतर्फ थप प्रोत्साहित गर्ने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाले बीउ वितरणसँगै किसानलाई खेती प्रविधिबारे प्राविधिक सहयोगसमेत उपलब्ध गराउने जनाएको छ । उत्पादनको परिमाण बढाउँदै किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले रायो र मूलालाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए ।

उनका अनुसार किसानलाई बीउ उपलब्ध गराउने, उत्पादनमा प्राविधिक सहजीकरण गर्ने र बजारीकरणमा सहकार्य गर्ने गरी कार्यक्रम अघि बढाइएको हो । उत्पादित कृषि उपजले उचित मूल्य नपाउने तथा बजारको अभाव हुने समस्या समाधानमा खरिद पूर्वसम्झौता प्रभावकारी हुने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । किसानलाई उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरूको उपजले उचित मूल्य पाउने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर किसानको आम्दानी वृद्धि गर्नुका साथै बाह्य क्षेत्रबाट आयात हुने तरकारीमा निर्भरता घटाउने गाउँपालिकाको लक्ष्य छ ।