इटहरी । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ले नेपालमा रिलिज हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ। चलचित्रको अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएसँगै विदेशमा समेत यसको माग बढेको निर्माण पक्षले जनाएको छ।

नेपालमा यही भदौ १२ गते, रक्षा बन्धनको अवसरमा प्रदर्शनमा आउने चलचित्रलाई अस्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले सेप्टेम्बर ४ देखि प्रदर्शन गर्नेछ। त्यसको एक सातापछि अर्थात् सेप्टेम्बर ११ देखि अमेरिकामा माया डिजिटल युएसएमार्फत चलचित्र प्रदर्शन गरिनेछ।


Screenshot 2026-08-23 at 3.28.20 PM

चलचित्रका सार्वजनिक गीत, टिजर तथा ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला अन्य अन्तर्राष्ट्रिय बजारबाट समेत चलचित्रको प्रदर्शनका लागि चासो बढिरहेको निर्माता हरिहर अधिकारीले बताएका छन्। 

नीता ढुङ्गानाको निर्देशनमा तयार भएको चलचित्रमा स्वयं ढुङ्गानासहित अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा पनि नीता ढुङ्गानाकै रहेको छ भने शिवम् अधिकारीले पटकथा तथा संवाद लेखेका हुन्। सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

Screenshot 2026-08-23 at 3.28.40 PM

दिदी–भाइबीचको आत्मीय सम्बन्ध, माया र भावनात्मक उतारचढावलाई कथाको केन्द्रमा राखिएको ‘पार्वती’ले पारिवारिक सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।

शंकर पाण्डे कार्यकारी निर्माता रहेको चलचित्रले नेपालमा प्रदर्शनअघि नै विदेशमा पाएको बजारले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय सम्भावनालाई समेत थप बल दिएको निर्माण पक्षको विश्वास छ।