इटहरी । तीजलाई प्रायः रातो साडी, नाचगान र माइतीको सम्झनासँग जोडेर हेर्ने गरिन्छ। तर, यही परम्परागत सांस्कृतिक परिवेशलाई सामाजिक यथार्थसँग जोड्दै गायिका ऋचा काफ्लेले नयाँ तीज गीत ‘कुरा बुझे बरिलै’ सार्वजनिक गरेकी छन्।
इटहरीस्थित गोर्खा होटलमा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मी, कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उपस्थितिमा गीतको औपचारिक विमोचन गरिएको हो।
‘कुरा बुझे बरिलै’को म्युजिक भिडियोले नेपाली समाजमा महिलाले भोग्दै आएका संघर्ष, पारिवारिक जिम्मेवारी र आफ्नो सपना पूरा गर्न गरेको निरन्तर प्रयासलाई कथानकमार्फत प्रस्तुत गरेको छ। भिडियोमा माइतीघरमै सौतेनी आमाको व्यवहार सहनुपरेकी र कलिलै उमेरमा विवाह गर्न बाध्य भएकी एक महिलाको जीवनलाई केन्द्रमा राखिएको छ।

विवाहपछि आफ्ना इच्छा, रहर र पढाइलाई पछाडि राख्दै परिवार तथा सन्तानको जिम्मेवारीमा समर्पित हुनुपरेकी ती महिलाले समयसँगै आफ्नो अधुरो शिक्षालाई पुनः निरन्तरता दिन्छिन्। जीवनका विभिन्न चुनौती सामना गर्दै उनी आत्मनिर्भर बन्ने यात्रामा अघि बढ्छिन्। यही संघर्ष र सफलताको कथालाई गीतको भिडियोले भावनात्मक रूपमा चित्रण गरेको छ।
गीत सार्वजनिक कार्यक्रममा निर्माण पक्षले तीजलाई केवल मनोरञ्जन र उत्सवमा सीमित नगरी महिलाका वास्तविक कथा, पीडा, सपना र सम्भावनालाई अभिव्यक्त गर्ने प्रयास गरिएको जनाएको छ। महिलाभित्र रहेको आत्मविश्वास, अवसर पाएपछि अघि बढ्ने क्षमता र आफ्नो पहिचान निर्माण गर्ने यात्रालाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको निर्माण पक्षको भनाइ छ।
‘कुरा बुझे बरिलै’मा शब्द तथा संगीत दुर्गा पराजुलीको रहेको छ भने स्वर ऋचा काफ्लेको रहेको छ। गीतको संगीत संयोजन नारायण दङ्गालले गरेका छन्।
म्युजिक भिडियोको निर्देशन नगेन्द्र राईले गरेका हुन्। छायांकन कमानसिङ राईको रहेको भिडियोमा करिश्मा कटवाल, प्रज्वल काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन्। लक्ष्मी डान्स सेन्टरको नृत्य प्रस्तुतिसमेत भिडियोमा समेटिएको छ।
परम्परागत तीजको सांस्कृतिक स्वादलाई समसामयिक सामाजिक कथासँग जोडिएको यो गीतले महिलाको जीवनमा आउने उतारचढावसँगै शिक्षा, आत्मनिर्भरता र आफ्नो सपना पूरा गर्ने चाहनाको सन्देश दिन खोजेको छ। गीतको म्युजिक भिडियो अहिले युट्युबमार्फत दर्शक तथा श्रोतामाझ सार्वजनिक गरिएको छ।




















