इटहरी । नेपाल प्रेस युनियन सुनसरीको नयाँ नेतृत्व चयनमा सहमति जुटेसँगै मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। दुवैबीच भएको सहमतिअनुसार कार्यकालको नेतृत्व आलोपालो गर्ने व्यवस्था मिलाइएको हो।

निर्वाचन प्रक्रियामा भएको सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने बाँकी डेढ वर्ष उषाकिरण घिमिरेले युनियनको नेतृत्व गर्नेछिन्। नेतृत्वमा सहमति बनेपछि अध्यक्ष पदमा दुवै जनाको निर्विरोध चयन भएको हो।


3ed00be2-d708-4ac2-a040-0352fb21b0fa


अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी र समावेशी उपाध्यक्षमा वीरेन्द्र साह चयन भएका छन्। यस्तै, सचिवमा संगम विष्ट निर्वाचित भएका छन्। 

त्यसैगरी समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योती पोखरेल तथा कोषाध्यक्षमा नशिम अन्सारी चयन भएका छन्।

युनियनको सदस्यतर्फ दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारीका राई, सुविक्षा राई, सन्जिप तिम्सिना, सरोज श्रेष्ठ र भीम चौधरी चयन भएका छन्।


22dec006-d741-4787-9097-9e2e13125189


अधिवेशनले अधिकांश पदमा आपसी सहमतिकै आधारमा नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्वले सुनसरीमा पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै व्यावसायिक पत्रकारितालाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिले जिल्लामा क्रियाशील पत्रकारहरूबीच सहकार्य र एकतालाई प्राथमिकता दिँदै पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीमा साझा पहल गर्ने प्रतिबद्धता जनाएको छ।

तस्बिरहरू : सन्जिप तिम्सिना