IMG_9081इटहरी । स्काईफल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिचर फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता तथा रंगकर्मी प्रजल दुलाल अनुबन्धित भएका छन्। निर्देशक बलिराम चौहानसँगको सहकार्यमा उनी फिल्मको महत्वपूर्ण भूमिकामा देखिने भएका हुन्। निर्माण पक्षले प्रजललाई फिल्ममा स्वागत गर्दै उनको पात्रको लुक्ससहितको पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा प्रजललाई आकर्षक लुक्समा प्रस्तुत गरिएको छ। ‘A new face. A new journey. A new story.’ भन्ने भावसहित सार्वजनिक गरिएको पोस्टरले फिल्ममा उनको भूमिकालाई लिएर दर्शकमा उत्सुकता थपेको छ।

प्रजल दुलाल नेपाली रंगमञ्चमा सक्रिय युवा कलाकार हुन्। अभिनयसँगै उनी लेखन र निर्देशनतर्फ पनि सक्रिय रहँदै आएका छन्। पछिल्लो समय उनी चर्चित रंगमञ्चीय प्रस्तुति ‘पापशाला’को निर्देशनसँगै अभिनयमा समेत देखिएका थिए। जाँ–पल सार्त्रको चर्चित नाटक No Exit को नेपाली रूपान्तरणका रूपमा तयार भएको उक्त नाटकमा प्रजलले निर्देशन र अभिनय दुवै जिम्मेवारी सम्हालेका थिए।

फिल्मतर्फ पनि उनको सिर्जनात्मक सक्रियता विस्तार हुँदै गएको देखिन्छ। वरिष्ठ निर्देशक नीर शाहको आगामी चलचित्र ‘कमला मिस’को पटकथा तथा संवाद तयार पार्ने टोलीमा प्रजल दुलाल र सुगम दुलाल पनि सहभागी छन्। विजय मल्लको कथामा आधारित उक्त फिल्मका लागि नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्।

यसअघि प्रजल ‘बलिदान’ जस्ता चलचित्रमा समेत कलाकारका रूपमा देखिइसकेका छन्। फिल्ममा अभिनयसँगै उनको सिर्जनात्मक भूमिकाको दायरा विस्तार हुँदै गएको देखिन्छ।

अब भने ‘ल्याङ्ग ल्याङ्ग’मार्फत प्रजलले पर्दामा आफ्नो अभिनयलाई थप फराकिलो बनाउने अवसर पाएका छन्। बलिराम चौहानको निर्देशन रहने फिल्मको कथा चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रमा भोलानाथ कटवालको लगानी रहनेछ।

यसअघि फिल्ममा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् भने मुख्य अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको निर्देशक चौहानले बताएका छन्।

रंगमञ्चमा अभिनय, निर्देशन र लेखनको अनुभव बटुलेका प्रजलका लागि ‘ल्याङ्ग ल्याङ्ग’ ठूलो पर्दामा आफ्नो उपस्थितिलाई थप स्थापित गर्ने अर्को महत्वपूर्ण अवसर बनेको छ। नयाँ पुस्ताका कलाकार तथा सिर्जनाकर्मीलाई समेट्दै अघि बढिरहेको फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ।