इटहरी । अभिनेत्री निरुता सिंहलाई केन्द्रमा राखिएको प्रभावशाली फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सारथी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। कुमार गजुरेलको निर्देशनमा तयार भएको चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुप्रति दर्शकमा कौतुहल बढाउने संकेत गरेको छ। पोस्टरमा निरुता सिंह काखमा दुधे बालक बोकेर गम्भीर भावमा उभिएकी छन्। उनको खुट्टाको पैतालाबाट रगत चुहिरहेको दृश्यले चलचित्रभित्र संघर्ष, पीडा र चुनौतीपूर्ण परिस्थितिको कथा रहेको अनुमान गर्न सकिन्छ।
लामो समयपछि निरुतालाई फरक र गम्भीर भूमिकामा प्रस्तुत गरिएको ‘सारथी’मा उनीसँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता तथा अमीर केसी लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
म्याग्दीको दुर्गम गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रको दृश्यलाई संकल्प भुजेलले क्यामेरामा कैद गरेका हुन्। फिल्ममा बाबुबल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने बाबुल, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर सुन्न सकिनेछ।
फर्स्टलुकमै निरुताको रहस्यमय र गम्भीर उपस्थितिले दर्शकको ध्यान तानेको ‘सारथी’ले प्रदर्शनअघि नै आफ्नो कथावस्तु र पात्रलाई लिएर उत्सुकता बढाएको छ। अब मंसिर ११ गते पर्दामा चलचित्रले कस्तो कथा प्रस्तुत गर्छ भन्ने प्रतीक्षा गर्नुपर्नेछ।




















