इटहरी । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुभाषिक चलचित्र ‘प्रतिवैरम्’ यतिबेला आफ्नो आइटम गीत ‘माहोल गरम’ सार्वजनिक हुनुअघि नै चर्चामा आएको छ। गीतको हिन्दी संस्करणमा देखिएको क्रेडिटसम्बन्धी विवाद निर्माण पक्ष र सम्बन्धित व्यक्तिहरूबीचको समझदारीमा टुंगिएको निर्माण टिमले जनाएको छ।
गीत सार्वजनिक हुनुअघि नै गायिका शिवानी भगतले सामाजिक सञ्जालमार्फत हिन्दी संस्करणको लिरिक्स क्रेडिटबारे प्रश्न उठाएपछि विवाद बाहिर आएको थियो। उनका अनुसार गीतको हिन्दी शब्दरचना लव कर्णले गरे पनि लिरिक्स क्रेडिटमा रोशन दासको नाम राखिएको थियो।
त्यसपछि लव कर्णले पनि फरक भाषामा गीतलाई लिप–सिंकसँग मेल खाने गरी रूपान्तरण गर्न आफूले गरेको कामको उचित श्रेय पाउनुपर्ने धारणा सार्वजनिक गरेका थिए। यससँगै गीतको क्रेडिटलाई लिएर सामाजिक सञ्जालमा चर्चा बढेको थियो।
यता, निर्माण पक्षले भने उक्त विषयलाई गम्भीर विवादका रूपमा अघि नबढाई आपसी समझदारीबाट समाधान गरिएको जनाएको छ। निर्माण टिमका अनुसार क्रेडिटमा देखिएको समस्या प्राविधिक त्रुटिका कारण भएको हो र आवश्यक सुधार गरिनेछ।
निर्माण पक्षले विवाद समाधान भइसकेकाले ‘माहोल गरम’को रिलिज तथा चलचित्रको प्रचार अभियानमा कुनै असर नपर्ने स्पष्ट पारेको छ। हिन्दी संस्करणमा शिवानी भगतकै स्वर रहेको गीतले चलचित्रको प्रचारलाई थप गति दिने अपेक्षा निर्माण टिमले गरेको छ।
नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा निर्माण भएको ‘प्रतिवैरम्’लाई युवा फिल्मकर्मी रोशन दासले लेखन तथा निर्देशन गरेका हुन्। चारवटै भाषामा चलचित्र दर्शकमाझ ल्याउने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता, अनिश पोखरेल सह–निर्माता, बिक्की शाह कार्यकारी निर्माता तथा राकेश शाह क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा सिम्पल एड मिडिया, श्रीयान इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सनको सहकार्य छ। चलचित्रमा नवनायक सम्राट दास र सुप्रज्ञा शर्मासँगै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको छ।
‘माहोल गरम’को रिलिजअघि देखिएको क्रेडिट विवाद समाधान भएसँगै अब निर्माण टिमको ध्यान गीत तथा चलचित्रको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनेतर्फ केन्द्रित भएको छ।




















