IMG_9054इटहरी । आमाले छोरीलाई बचाउन गर्ने संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘मास्टर्नी’ले प्रदर्शनअघि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । बुधबार साँझ राजधानीमा आयोजित प्रिमियर शोमा सहभागी चलचित्रकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले चलचित्रको कथावस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन् ।

भदौ ५ गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रसँगै कर्पोरेट क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो । चलचित्र हेरेपछि अधिकांशले ‘मास्टर्नी’को कथा आफूहरूले हेर्दै आएका चलचित्रभन्दा फरक र भावनात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रिमियरपछि अभिनेत्री केकी अधिकारीले चलचित्रको कथावस्तु फरक रहेको बताउँदै एकपटक हेरेर मात्र आफ्नो मन नअघाएको प्रतिक्रिया दिइन् । उनले चलचित्र पुनः हेर्ने इच्छा व्यक्त गरिन् ।

अर्की अभिनेत्री खुशी कार्की भने चलचित्रमा प्रस्तुत पारिवारिक घटनाक्रमबाट भावुक बनिन् । चलचित्रले छोएको बताउँदै उनी आफ्ना आँसु रोक्न नसकेको प्रतिक्रिया दिइन् ।

त्यस्तै अभिनेत्रीहरू लुनिभा तुलाधर, शिल्पा मास्के, प्रशंसा रायमाझी, टेरिया पुर्जा मगर, सन्ध्या केसी, अभिनेता सञ्जेग कोइराला, टिकटकर इभा गिरी तथा सञ्चारकर्मी ओसिन सिटौलालगायतले चलचित्र आफूलाई मन परेको प्रतिक्रिया दिएका छन् ।

प्रिमियरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले चलचित्रको निर्माण टिमलाई थप उत्साहित बनाएको छ । अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीले पनि दर्शकबाट चलचित्र दमदार बनेको प्रतिक्रिया पाउँदा आफूहरू उत्साहित भएको बताएकी छन् ।

शुभेन्द्र घोषको निर्देशन रहेको ‘मास्टर्नी’ क्राइम जनरामा निर्माण गरिएको चलचित्र हो । चलचित्रले आफ्नी छोरीलाई जोगाउन एउटी आमाले गर्ने संघर्ष, चुनौती र त्यस क्रममा आइपर्ने घटनालाई कथाको मुख्य आधार बनाएको छ ।

चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, दीपाश्री निरौला, दीपकराज गिरी र जितु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

आयंका फिल्म्सको ब्यानरमा बनेको चलचित्रका निर्मातामा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की रहेका छन् भने सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता हुन् ।

प्रियंका कार्कीकै कथामा तयार भएको चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन् । संवादमा प्रियंका कार्की र शान बस्नेत, छायांकनमा युवराज इन्दोरिया तथा सम्पादनमा राजा सिंह सिदु रहेका छन् ।

प्रिमियरमा आएको भावनात्मक र सकारात्मक प्रतिक्रियाले ‘मास्टर्नी’प्रति प्रदर्शनअघि नै दर्शकको चासो बढाएको छ । अब भदौ ५ गतेदेखि हलमा आउने चलचित्रले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा छ ।