भोजपुर । वर्षभरि मेहनत गरेर उत्पादन गरेको अन्नबाली भित्र्याउने समय नजिकिँदै गर्दा भोजपुरका किसानलाई बाँदरको झुन्डबाट बाली जोगाउनै मुस्किल परेको छ । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको हुल पस्न थालेपछि किसानले दिनभर खेतमै बसेर बालीनाली कुर्नुपर्ने अवस्था आएको हो ।
जिल्लाका नौवटै स्थानीय तहका अधिकांश क्षेत्रमा बाँदरको समस्या देखिएको किसानले बताएका छन् । विशेषगरी तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढी देखिएको छ । खेतबारीमा पस्ने बाँदरको हुलले केही समयमै मकैबालीमा क्षति पुर्याउने गरेको किसानको गुनासो छ ।
भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतका अनुसार पाक्न लागेको मकै जोगाउन परिवारका सदस्य नै आलोपालो गरेर खेतबारीमा बस्नुपर्ने अवस्था छ । ‘वर्षभरि मेहनत गरेर लगाएको बाली पाक्ने बेलामा बाँदरले नष्ट गरिदिन्छन्,’ उनले भने, ‘खेतबारीमा गएर दिनभरि कुर्नुपर्ने अवस्था छ । यसको दीर्घकालीन समाधानका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्छ ।’
बाँदरले मकैबालीमा मात्र नभई तरकारी तथा बगैँचाका फलफूलमा समेत क्षति पुर्याउन थालेपछि किसान थप समस्यामा परेका छन् । बालीनाली जोगाउन कतिपय किसानले खेतबारीमै स–साना टहरा बनाएर नियमित निगरानी गर्ने गरेका छन् ।
किसानका अनुसार दैनिक दुईदेखि तीन जनासम्म खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था छ । यसले खेतीपातीमा लाग्ने श्रम र लागत बढाउनुका साथै अन्य काममा समेत असर पारिरहेको उनीहरूको भनाइ छ
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह तथा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए । ‘बाँदरको समस्या धेरै ठाउँमा देखिएको छ,’ उनले भने, ‘तत्कालका लागि बाँदर धपाउने यन्त्र वितरणलगायतका उपाय अपनाइएको छ । तर समस्या दीर्घकालीन रूपमा समाधान गर्न थप प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक छ ।’
बाँदरको बढ्दो उपद्रोका कारण कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको किसानले बताएका छन् । खेतीपातीमै निर्भर परिवारका लागि बाँदरको समस्या बालीनालीमा हुने क्षतिमा मात्र सीमित नरही आर्थिक तथा सामाजिक चुनौतीका रूपमा समेत देखिन थालेको उनीहरूको भनाइ छ ।
किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह, वन कार्यालय तथा अन्य सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन माग गरेका छन् । तत्कालका लागि बाली संरक्षणका उपायसँगै बाँदर व्यवस्थापनको दिगो समाधान खोज्न सके मात्र किसानको उत्पादन र जीविकोपार्जन सुरक्षित गर्न सकिने उनीहरूको भनाइ छ ।




















