सुनसरी । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएको भोलिपल्टै जीवन आचार्य इटहरी–१९ स्थित सहिद स्मृति आवासीय विद्यालय पुगेका छन्। विद्यालयमा उनले वृक्षारोपणसँगै सहिद, बेपत्ता तथा घाइते परिवारका सन्ततिको शिक्षा र विद्यालयको भौतिक अवस्थाबारे जानकारी लिएका छन्।

सोमबार मन्त्री नियुक्त भएका आचार्य मंगलबार बिहान विद्यालय पुगेका हुन्। विद्यालय परिसरमा आयोजित कार्यक्रममा वृक्षारोपण गर्दै उनले वातावरण संरक्षणसँगै सहिद परिवारका सन्ततिको शिक्षा र भविष्य निर्माणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।

विद्यालयमा अध्ययनरत सहिद, बेपत्ता तथा घाइतेका सन्ततिसँग भेटघाट गर्दै मन्त्री आचार्यले उनीहरूले राज्यबाट प्राप्त गर्दै आएको शिक्षा, संरक्षण तथा अन्य सुविधाका विषयमा जानकारी लिए।

विद्यार्थीसँगको कुराकानीमा उनले सहिदहरूले देखेको सपना र मुलुकका लागि गरेको योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए। सहिद परिवारका सन्ततिको शिक्षा तथा भविष्य निर्माणमा राज्यको जिम्मेवारी महत्वपूर्ण रहेको उनको भनाइ थियो।

मन्त्री आचार्यले प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले सहिदका सपना पूरा गर्ने दिशामा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए। प्रदेशको विकाससँगै सहिद तथा बेपत्ता परिवारका समस्या समाधानका लागि आवश्यक पहल गर्ने उनले बताए।

मन्त्री नियुक्त भएपछि पहिलोपटक विद्यालय पुगेका आचार्यले त्यहाँको अवस्था, विद्यार्थीका आवश्यकता र भौतिक पूर्वाधारका विषयमा समेत जानकारी लिएका थिए।

कार्यक्रममा कोशी प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको पनि सहभागिता थियो।