att.ImF0hcRblE3yy5BwNHkVKoliYGeeTV9lVOWfWs9YWgwइटहरी । विवाहपछि महिलाको पहिचान र क्षमता घरपरिवारमा मात्रै सीमित हुन्छ भन्ने सामाजिक सोचलाई चुनौती दिँदै कोशी प्रदेशका २२ विवाहित महिला ‘मिसेस पूर्वेली आइकन–३’को मञ्चमा उत्रिने भएका छन्। सौन्दर्य प्रतियोगिताको परम्परागत परिभाषाभन्दा फरक ढंगले महिलाको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा र सामाजिक योगदानलाई केन्द्रमा राख्दै प्रतियोगिताको तयारी भइरहेको छ।

ओपन स्पेस प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताको तेस्रो संस्करणमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका २२ जना विवाहित महिलाले सहभागिता जनाउँदैछन्। आयोजकका अनुसार प्रतियोगीहरू विभिन्न पेशा र क्षेत्रसँग जोडिएका छन्। चिकित्सक, शिक्षक, बैंकर, फार्मासिस्ट, ब्युटिसियन, व्यवसायी, उद्यमी तथा बीमा अधिकृतदेखि गृहिणीसम्मको सहभागिता रहेको छ।

यसपटकको प्रतियोगितालाई अझ विशेष बनाउने तयारी आयोजकले गरेको छ। प्रतियोगीहरू र्याम्पमा हिँडेर आफ्नो प्रस्तुति दिने मात्र नभई उनीहरूको व्यक्तिगत जीवन र संघर्षको कथा पनि दर्शकमाझ प्रस्तुत गरिनेछ। त्यसका लागि प्रत्येक प्रतियोगीको जीवन, पेशागत यात्रा, उपलब्धि, रुचि तथा समाजमा पुर्‍याएको योगदान समेटिएको भिडियो डकुमेन्ट्री निर्माण गरिनेछ।

कार्यक्रमका निर्देशक तथा ओपन स्पेस प्रालिका म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठका अनुसार हरेक महिलाको जीवनमा अरूले नसुनेको एउटा कथा हुन्छ।

“हरेक महिलाको आफ्नै एउटा नभनिएको कथा हुन्छ। हामी उनीहरूको बाहिरी आवरणभन्दा पनि सोच, संघर्ष र पहिचानलाई सम्मान गर्दै समाजसामु प्रस्तुत गर्न चाहन्छौँ,” श्रेष्ठले भने।

प्रतियोगिताको तयारीअन्तर्गत भदौ ७ गते इटहरीस्थित होटल रमदामा २२ जना प्रतियोगीको विशेष फोटोसुट आयोजना गरिने भएको छ। फोटोसुटमार्फत प्रतियोगीहरूको आधिकारिक प्रोफाइल तथा प्रचारात्मक सामग्री तयार गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार फोटोसुट र अन्य तयारीले प्रतियोगीहरूलाई व्यावसायिक रूपमा प्रस्तुत हुन सिकाउनुका साथै सञ्चार क्षमता र आत्मविश्वास बढाउनसमेत सहयोग गर्नेछ।

प्रतियोगिताको अन्तिम चरण अर्थात् ग्रान्ड फिनाले कात्तिक १ गते इटहरीमा आयोजना हुनेछ। फिनालेमा प्रतियोगीको मूल्यांकन केवल बाहिरी सौन्दर्यका आधारमा गरिने छैन। प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, प्रतिभा तथा सामाजिक दृष्टिकोणलाई समेत मूल्यांकनको प्रमुख आधार बनाइने आयोजकले जनाएको छ।

‘मिसेस पूर्वेली आइकन–३’ले विवाहित महिलालाई केवल सौन्दर्यको दृष्टिले नभई उनीहरूको क्षमता, संघर्ष र पहिचानका आधारमा समाजसामु चिनाउने लक्ष्य लिएको छ। ‘२२ प्रतियोगी, २२ फरक कथा र एउटै उद्देश्य’ भन्ने अवधारणासहित अघि बढेको प्रतियोगिताले महिलाको आत्मविश्वास र सशक्तीकरणलाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।