इटहरी । कोशी प्रदेशमा सक्रिय फिल्मकर्मीहरूको प्रयास र स्थानीय स्रोत–साधनको प्रयोगबाट निर्माण गरिएको नेपाली चलचित्र ‘बाघि’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सुजित फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरले यसलाई एक्सन, द्वन्द्व र बदलाको कथामा केन्द्रित चलचित्रका रूपमा प्रस्तुत गरेको छ।
सार्वजनिक पोस्टरमा भत्किएको संरचना, दन्किरहेको आगो र घाइते पात्रहरूको उपस्थितिले फिल्मभित्रका तीव्र द्वन्द्व र विस्फोटका दृश्यतर्फ संकेत गरेको छ। पोस्टरमा प्रयोग गरिएको ‘बाघि’ शीर्षकको आगोको लप्काजस्तो डिजाइनले समेत फिल्मको मूल भावलाई थप प्रस्ट्याएको छ।
फिल्मको फर्स्टलुकमा सात मुख्य पात्रलाई फरक–फरक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरको केन्द्रमा नीलो भेस्टमा देखिएका एक पात्रलाई गम्भीर, आक्रोशित र दृढ मुद्रामा प्रस्तुत गरिएको छ। निधार र छातीमा देखिएको चोट तथा रगतले उनको चरित्रले कथामा भोग्ने संघर्षको संकेत गर्छ।
उनको छेउमा अर्को युवा पात्र पनि घाइते अवस्थामा देखिन्छन्। पोस्टरको माथिल्लो भागमा रहेका चार पुरुष पात्र भने निकै आक्रामक देखिन्छन्। लामो दाह्री, लामो कपाल, कालो चस्मा र रक्ताम्मे अनुहारसहित उनीहरूको लुक्सले फिल्ममा नायक र प्रतिपक्षबीच हुने कडा संघर्षलाई संकेत गरेको छ।
यस्तै, पोस्टरको तल्लो भागमा गुलाबी पहिरनमा रहेकी महिला पात्रलाई त्रसित तथा घाइते अवस्थामा देखाइएको छ। उनको उपस्थितिले फिल्ममा एक्सनसँगै भावनात्मक पक्षसमेत जोडिएको अनुमान गर्न सकिन्छ।
सुजित कुमार शाहको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्मको छायांकन दिनेश श्रेष्ठ र रोशन सरदारले गरेका हुन्। फिल्मको द्वन्द्व निर्देशन रेगन प्रसालले गरेका छन् भने पोस्ट प्रोडक्सनको जिम्मेवारी राजवंशी प्रिजेन्ट्सले सम्हालेको छ।
निर्माण टिमका अनुसार फिल्मको डबिङको काम पूरा भइसकेको छ। अब पार्श्व संगीत र भिएफएक्सको काम मात्र बाँकी रहेको जनाइएको छ। प्राविधिक काम अन्तिम चरणमा पुगेसँगै निर्माण पक्षले प्रचारप्रसारलाई समेत तीव्र बनाउने तयारी गरेको छ।
फिल्मको पहिलो टिजर चाँडै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ। मोफसलमा रहेर स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्माण गरिएको ‘बाघि’ले पर्दामा स्तरीय मेकिङ प्रस्तुत गर्ने लक्ष्य लिएको निर्माण पक्षको दाबी छ।
चलचित्रलाई आगामी भाद्र महिनाको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको छ। फर्स्टलुकले निर्माण गरेको एक्सन र बदलाको माहोलपछि अब सार्वजनिक हुने टिजरमा फिल्मको कथा र पात्रहरूबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।




















