इटहरी । चर्चित डान्सर तथा नव-अभिनेत्री कविता नेपालीले आफ्नो फिल्मी करियरको सुरुवातमै उल्लेखनीय सफलता हासिल गरेकी छिन । उनको डेब्यु फिल्म ‘एक्लो’बाट गरेको अभिनय तथा प्रस्तुतिको मूल्यांकन गर्दै उनले ‘इन्फा अवार्ड’मा ‘पर्फर्मर अफ द इयर’को उपाधि जितेकी हुन्।
पहिलो फिल्मबाटै अवार्ड हात पारेपछि कविता उत्साहित देखिएकी छिन । उनले सामाजिक सञ्जालमार्फत यो सम्मानलाई आफ्नो फिल्मी यात्राको विशेष सुरुवातका रूपमा लिँदै खुसी तथा कृतज्ञता व्यक्त गरेकी छिन।
कविताले आफ्नो पहिलो फिल्मी अवार्ड प्राप्त गरेको क्षणलाई स्मरण गर्दै आफू अत्यन्तै विनम्र र आभारी भएको बताएकी छिन। साथै, आफ्नो फिल्मी यात्राको सुरुवात नै अवार्डबाट हुनु आफूका लागि विशेष उपलब्धि भएको उनको भनाइ छ।
अवार्ड प्राप्त गरेपछि उनले ‘एक्लो’को निर्माण टिमप्रति विशेष आभार व्यक्त गरेकी छिन । पहिलो फिल्ममा अवसर दिनुका साथै आफ्नो फिल्मी यात्रालाई सुन्दर सुरुवात गरिदिएकोमा उनले फिल्मको सम्पूर्ण टिमलाई धन्यवाद दिएकी छिन ।
त्यस्तै, आफ्नो प्रस्तुतिलाई स्वीकार गर्दै माया, प्रशंसा र साथ दिने दर्शकप्रति पनि कविताले आभार व्यक्त गरेकी छिन । आफ्नो मेहनतको कदर गर्दै अवार्ड प्रदान गरेकोमा इन्फा अवार्ड्सप्रति समेत उनले धन्यवाद दिएकी छिन ।
कविताका लागि यो अवार्ड केवल सम्मानमा सीमित छैन। प्राप्त माया र सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको उनले बताएकी छिन। कलाकारका रूपमा निरन्तर सिक्दै अगाडि बढ्ने र आफूलाई थप निखार्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन ।
डान्सिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी कविता नेपालीले ‘एक्लो’मार्फत नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्। नृत्यसँगै अभिनयमा समेत सम्भावना देखाएकी उनको पहिलो फिल्मकै प्रस्तुतिले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
डेब्यु फिल्मबाटै ‘पर्फर्मर अफ द इयर’को उपाधि हात पार्नुले कविताको फिल्मी यात्रालाई उत्साहजनक सुरुवात दिएको छ। अब आगामी दिनमा उनले अभिनयमा आफ्नो क्षमता कसरी विस्तार गर्छिन् भन्ने विषयमा समेत दर्शकको चासो बढेको छ।




















