IMG_8975 केशव सिग्देल (पवन)

इटहरी । निर्माणाधीन नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ (The Rise of Saamrajya) मा अभिनेता नाजिर हुसेन औपचारिक रूपमा आबद्ध भएका छन्। निर्माण कम्पनी डार्क हर्स इन्टरटेन्मेन्टले विशेष पोस्टर सार्वजनिक गर्दै नाजिरलाई चलचित्रमा स्वागत गरेको हो।

नाजिरको प्रवेशसँगै चलचित्रप्रतिको दर्शकको चासो थप बढ्ने निर्माण टिमको विश्वास छ। नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय क्षमता र फरक शैलीका कारण परिचित नाजिरको सहभागिताले चलचित्रको कलाकार टोली थप आकर्षक बनेको छ।

निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा नाजिरलाई गम्भीर तथा प्रभावशाली अवतारमा प्रस्तुत गरिएको छ। यद्यपि चलचित्रमा उनको भूमिका र चरित्रका बारेमा भने निर्माण टिमले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

यसअघि चलचित्रमा अभिनेता दयाहाङ राई र सौगात मल्ल समेत आबद्ध भइसकेका छन्। यी चर्चित कलाकारसँगै नाजिर हुसेनको सहभागिताले ‘द राइज अफ साम्राज्य’प्रति दर्शकको अपेक्षा अझ बढ्ने देखिएको छ।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव रहेका छन्। सह–निर्मातामा विश्वास बस्नेत (बेन) तथा कार्यकारी निर्मातामा शंकर पाण्डेय छन्।

चलचित्रको डीओपी मन कृष्ण महर्जन, एक्सन निर्देशक श्री श्रेष्ठ तथा मिडिया को–अर्डिनेटर सुरक्षा भट्टराई रहेका छन्।

निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार, कथावस्तु तथा प्रदर्शन मितिसहितका थप जानकारी क्रमशः सार्वजनिक गरिँदै जानेछ। लोकप्रिय कलाकारहरूको लगातार आबद्धताले ‘द राइज अफ साम्राज्य’लाई प्रतीक्षित नेपाली चलचित्रका रूपमा अगाडि बढाउने निर्माण टिमको विश्वास छ।