इटहरी — नेपाली चलचित्र क्षेत्रमा अर्को नयाँ परियोजना थपिएको छ। निर्देशक सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पच्चीस पच्चीस’ को सोमबार काठमाडौंको दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा चलचित्रको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकारलाई सार्वजनिक गरिएको थियो।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता कर्ण कार्की हुन्। ‘होस्टेल ३’ पछि उनले निर्माण गर्न लागेको यो दोस्रो चलचित्र हो। सह–निर्माताको रूपमा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा छन्। लाइन प्रोडक्सनको जिम्मेवारी प्रकाश कँडेल र मनिषा राउतले सम्हाल्नेछन्।
यसअघि ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका सुब्रत आचार्यका लागि ‘पच्चीस पच्चीस’ तेस्रो निर्देशकीय चलचित्र हुनेछ। चलचित्रको कथा निर्देशक आचार्य र जया आचार्यले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्।
फिल्ममा अभिनेता अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा रहनेछन्। यस्तै, दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले पनि यही चलचित्रमार्फत नेपाली फिल्म उद्योगमा पहिलोपटक अभिनय गर्ने भएका छन्। ‘भक्ते भाइ’ पात्रका कारण नेपाल, दार्जिलिङ र सिक्किममा लोकप्रिय रहेका अमितको डेब्युलाई निर्माण टिमले विशेष आकर्षणका रूपमा प्रस्तुत गरेको छ।
चलचित्रको छायांकन हरि हुमागाईंले गर्नेछन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले तयार पार्नेछन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन छिट्टै सुरु गरिनेछ।
सामाजिक–कमेडी विधामा निर्माण हुन लागेको ‘पच्चीस पच्चीस’ ले मनोरञ्जनसँगै समकालीन सामाजिक विषयवस्तुलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने लक्ष्य लिएको निर्माण टिमले जनाएको छ।




















