IMG_8535इटहरी। अभिनेत्री तथा निर्देशक झरना थापा निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ५’ को छायाङ्कन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाबाट सुरु हुने भएको छ। निर्माण टिमका अनुसार आगामी श्रावण २९ गतेदेखि फिल्मको औपचारिक सुटिङ प्रारम्भ गरिनेछ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै निर्देशक थापाले नेपालको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचान बोकेको बडीमालिकाबाट नयाँ फिल्मको यात्रा सुरु गर्न पाउनु आफ्ना लागि विशेष अवसर भएको उल्लेख गरेकी छन्। उनले बडीमालिकाको ऐतिहासिक, धार्मिक र पर्यटनसम्बन्धी महत्त्वलाई फिल्ममार्फत थप उजागर गर्ने विश्वास व्यक्त गरेकी छन्। 

पछिल्लो समय बडीमालिका राष्ट्रिय रूपमा चर्चामा रहेको गन्तव्य बनेको छ। धार्मिक पर्यटनको सम्भावना र प्राकृतिक सौन्दर्यका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। यही परिवेशमा ‘ए मेरो हजुर ५’ को छायाङ्कन त्यहीँबाट सुरु गर्ने निर्णयलाई पर्यटन प्रवर्द्धनसँग जोडेर पनि हेरिएको छ।

निर्माण पक्षले फिल्मका अन्य छायाङ्कन स्थल र कलाकारबारे विस्तृत जानकारी भने क्रमशः सार्वजनिक गर्ने जनाएको छ। बडीमालिकाबाट सुरु हुने फिल्मको छायाङ्कनले नेपाली चलचित्रसँगै सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।