काठमाडौं । नयाँ नेतृत्वको आगमनसँगै नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० मा संस्थागत सुधारका प्रयासले गति लिन थालेका छन्। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएपछि निगमको आम्दानी, सिट उपयोगिता र सञ्चालन व्यवस्थापनमा सकारात्मक सुधार देखिन थालेको निगमले जनाएको छ।

गत जेठ ५ गते खुला प्रतिस्पर्धामार्फत चयन भएका पाँच स्वतन्त्र सञ्चालक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका दुई प्रतिनिधिसहित सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो। त्यसपछि गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्त गरेको थियो।

जिम्मेवारी सम्हालेपछि श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरेका छन्। उनले पहिलो १५ दिनमै सञ्चालक समितिका तीन बैठक सम्पन्न गरी संस्थागत सुधार, सेवा विस्तार, वित्तीय अनुशासन र सञ्चालन दक्षता अभिवृद्धिका लागि कार्ययोजना तथा रणनीति तय गरिएको जानकारी दिएका छन्।

निगमका अनुसार गत आर्थिक वर्षको असार महिनाको तुलनामा यस वर्षको असारमा आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सिट उपयोगिता (लोड फ्याक्टर) पनि गत वर्षको करिब ७५ प्रतिशतबाट बढेर यस वर्ष ८५।४ प्रतिशत पुगेको छ।narrow-body-Nepal-Airlines-pla_Ha86zrUq75

उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत आम्दानी वृद्धि, अनावश्यक खर्च नियन्त्रण र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको निगमले जनाएको छ। साथै, आगामी दिनमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि तथा वित्तीय अनुशासनलाई थप सुदृढ बनाउँदै प्रतिस्पर्धी सेवा प्रवाहमा जोड दिइने योजना रहेको छ।

कार्यकारी अध्यक्ष श्रेष्ठले आफ्नो अनुभव, विज्ञता तथा अन्तर्राष्ट्रिय सम्बन्धको उपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।