इटहरी । सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा सहअस्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले इटहरीमा आयोजना गरिएको बृहत् सद्भाव र्याली उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
छोटो समयको तयारीका बाबजुद पनि र्यालीमा २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो। विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रति रहेको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ।
र्यालीका सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारासहित नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए। सहभागीहरूले विविधताभित्रको एकतालाई बलियो बनाउँदै सामाजिक सद्भाव कायम राख्न सबै नागरिकको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार पछिल्ला दिनहरूमा समाजमा देखिन सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै समुदायबीच विश्वास, सम्मान र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले र्याली आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूले सामाजिक सद्भाव कायम रहँदा मात्र समृद्ध र शान्त समाज निर्माण सम्भव हुने धारणा राखेका थिए।
र्याली सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण संघ–संस्था, सामाजिक अभियन्ता, स्वयंसेवक, सुरक्षाकर्मी तथा इटहरीवासीप्रति आयोजकले आभार व्यक्त गरेको छ। आयोजकका अनुसार अपेक्षाभन्दा बढी सहभागिता रहनुले इटहरीवासी सामाजिक एकता र सद्भावप्रति सकारात्मक रहेको सन्देश दिएको छ।
इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीले बृहत् सद्भाव र्याली इटहरीको सामाजिक एकता, सद्भाव र सहअस्तित्वको प्रतीकका रूपमा स्थापित भएको बताए। उनले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै सबै समुदायबीच आपसी विश्वास, सहकार्य र सम्मानको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको बताए ।
उनले शान्त, सभ्य, समावेशी र समृद्ध समाज निर्माणका लागि स्थानीय सरकार, सामाजिक संघ–संस्था, नागरिक समाज, युवा तथा आम नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए ।




















