इटहरी । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बा : एक योद्धा’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीत सार्वजनिक गर्दै फिल्मको भावनात्मक पक्ष दर्शकमाझ ल्याएको हो।
सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत तथा स्वर रहेको गीतले आफ्नो जन्मभूमि, बुवाआमा र आफ्ना जराप्रतिको सम्मानलाई केन्द्रमा राखेको छ। गीतमार्फत जीवनमा जति नै सफलता हासिल गरे पनि आफ्नो विगत, परिवार र मातृभूमिलाई कहिल्यै नबिर्सनुपर्ने सन्देश प्रवाह गरिएको छ।
रुख–जराको सम्बन्ध र माटो–पानीको प्रतीकात्मक प्रयोगमार्फत गीतले व्यक्तिको अस्तित्व आफ्नै आधारसँग जोडिएको हुन्छ भन्ने भाव प्रस्तुत गर्छ। त्यसैले आफ्ना मूल्य, संस्कार र उत्पत्तिलाई सधैं सम्मान गर्नुपर्ने सन्देश गीतले बोकेको छ।
सार्वजनिक गीतको भिडियोमा दिव्यदेव, झरना थापा, सुहाना थापालगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोमा सन्तान हुर्काउन अभिभावकले गर्ने संघर्ष, सन्तान परदेशिएपछि बुवाले भोग्नुपर्ने एक्लोपन र भावनात्मक पीडालाई मार्मिक ढंगले चित्रण गरिएको छ। साथै, फिल्मका केही महत्वपूर्ण दृश्यसमेत समावेश गरिएका छन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र नेपाली समाजमा बुवाले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जिम्मेवारीको कथामा आधारित छ। नेपाली संगीत क्षेत्रमा दर्जनौं चर्चित गीत सिर्जना गरिसकेका लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। फिल्मको कथा र पटकथा पनि उनैले तयार पारेका हुन्।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, कृष्ण काफ्ले सह–निर्माता तथा अर्जुन पौडेल लाइन प्रोड्युसर रहेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् भने आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले फिल्मको वितरण गर्नेछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा फिल्म देशभर प्रदर्शनमा आउने तयारीमा छ।




















