kamala-missइटहरी । प्रख्यात साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित मनोवैज्ञानिक कृति  ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित नेपाली चलचित्र  ‘कमला मिस’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक भएसँगै फिल्मले दर्शकमाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। 

वरिष्ठ फिल्मकर्मी नीर शाहको निर्देशनमा बनेको फिल्म आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। सार्वजनिक ट्रेलरमा शिक्षकको जीवनका संघर्ष, शैक्षिक क्षेत्रका चुनौती र गहिरा मानवीय संवेदनालाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरिएको छ। भावनात्मक कथा,  प्रभावशाली संवाद र कलाकारहरूको सशक्त अभिनय ट्रेलरका मुख्य आकर्षण बनेका छन्। 

विजय मल्ल स्मृति प्रतिष्ठानको ब्यानरमा मल्ल परिवारद्वारा निर्माण गरिएको फिल्ममा विजय मल्लकै मूल कथालाई पर्दामा उतारिएको हो। फिल्मको पटकथा तथा संवाद प्रजल दुलाल र सुगम दुलालले लेखेका छन्। 

फिल्ममा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडाको अभिनय रहेको छ। 

फिल्मका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन)रहेका छन्। छायांकन शिवराम श्रेष्ठ, सम्पादन मिलन विक्रम शाह, पृष्ठभूमि संगीत किरण तुलाधर, कोरियोग्राफी रामजी लामिछाने तथा साउन्ड मास्टरिङ मुकेश शाहले गरेका छन्।  

साहित्यिक सुगन्ध र मनोवैज्ञानिक कथावस्तु बोकेको  ‘कमला मिस’ को वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्। निर्माण पक्षले साहित्यिक कृतिमा आधारित फरक स्वादको नेपाली चलचित्र खोजिरहेका दर्शकका लागि यो फिल्म विशेष बन्ने विश्वास व्यक्त गरेको छ। 

हेर्नुहोस् ‘कमला मिस’को ट्रेलर :  

https://www.youtube.com/watch?v=ffMflrB2mKA