इटहरी । रेडिमेड व्यवसायी संघले उद्योग वाणिज्य संघको असार २७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ।

संघले बिहीबार आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित गायत्री कटुवाल भण्डारीसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारीलाई खादा र मालासहित सम्मान गरिएको थियो। उद्योग वाणिज्य संघको नेतृत्वमा महिला अध्यक्षका रूपमा नयाँ इतिहास रचेकी भण्डारीलाई विशेष सम्मान गरिएको थियो।

रेडिमेड व्यवसायी संघका अध्यक्ष दामोदर रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव महेन्द्र गुरागाईंले गर्नुभएको थियो भने स्वागत मन्तव्य निवर्तमान अध्यक्ष विनोद चोच्छेले राखेका थिए ।IMG-20260731-WA0001

कार्यक्रममा संघका पूर्वअध्यक्ष सीताराम सापकोटाले उद्योग वाणिज्य संघमा देखिएका चुनौती तथा सुधारका विषयमा धारणा व्यक्त गर्दै आजीवन सदस्यता शुल्क घटाउन, साधारण सदस्यता शुल्कलाई समयानुकूल परिमार्जन गर्न तथा सदस्य संख्या वृद्धि गर्न आवश्यक रहेको बताए ।

नवनिर्वाचित पदाधिकारीका तर्फबाट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेश धमलाले रेडिमेड व्यवसायी संघको सहयोग र विश्वासकै कारण आफू कोषाध्यक्ष पदमा निर्वाचित हुन सफल भएको उल्लेख गर्दै संघप्रति आभार व्यक्त गरे । उनले सबैको मार्गदर्शन र सहकार्यमा उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताए ।

त्यसैगरी उद्योग वाणिज्य संघकी महासचिव सुमित्रा भट्टराईले व्यवसायीहरूको माया, विश्वास र सहयोगकै कारण आफूहरू निर्वाचित हुन सफल भएको बताउँदै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र आवश्यक सुझावको अपेक्षा रहेको बताए ।  उनले गल्ती भए सच्याउन र सही मार्गदर्शन गर्न व्यवसायीहरूसँग आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडिमेड व्यवसायी संघका अध्यक्ष दामोदर रिमालले संघले विगतदेखि उद्योग वाणिज्य संघलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहने स्पष्ट पारे । उद्योग वाणिज्य संघले सञ्चालन गर्ने हरेक रचनात्मक कार्यक्रममा रेडिमेड व्यवसायी संघको सक्रिय सहभागिता रहने उनको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा रेडिमेड व्यवसायी संघकी संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले सानो प्रयासबाट स्थापना भएको रेडिमेड व्यवसायी संघ आज सशक्त संस्थाका रूपमा स्थापित भएको देख्दा आफूलाई गर्व लागेको बताइन् । निर्वाचनका क्रममा व्यवसायीहरूले दिएको साथ, सहयोग र सद्भावप्रति धन्यवाद व्यक्त गर्दै उनले उद्योग वाणिज्य संघलाई व्यवसायीमैत्री, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा व्यवसायीहरूको व्यस्तताका कारण अपेक्षाकृत ठूलो सहभागिता हुन नसके पनि उपस्थित व्यवसायीहरूको उल्लेखनीय सहभागिताबीच कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।