इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत लियो क्लब अफ तरहरा–इटहरी गठन गरिएको छ।
इटहरी–१ स्थित काका–भतिज होटलमा आयोजित कार्यक्रममा लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै वक्ताहरूले युवालाई अध्ययनसँगै समाजसेवा र नेतृत्व विकासमा सक्रिय हुन प्रेरित गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट ३२५ सीका एरिया चिफ लायन दुर्गाप्रसाद पौडेलले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सुदृढ बनाउन लियो क्लबमा आबद्ध हुनु आवश्यक रहेको बताए। उनले पढाइसँगै सेवाभावलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै लियो क्लबले युवालाई अनुशासित, जिम्मेवार र सक्षम नागरिक बन्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
पौडेलले पछिल्लो समय धेरै युवा लागूऔषध दुर्व्यसनलगायतका विकृतिमा फस्दै गएको उल्लेख गर्दै यस्ता चुनौतीबाट युवालाई जोगाउन लियो क्लबले प्रभावकारी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। समाजमा सकारात्मक परिवर्तन ल्याउने तथा युवामाझ सकारात्मक छाप छोड्ने सिर्जनात्मक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न उनले नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिए।
कार्यक्रममा डिष्ट्रिक्ट चिफ लायन सन्तोष श्रेष्ठ, जोन चेयरपर्सन लायन पवन अधिकारी तथा डिष्ट्रिक्ट गभर्नरका विशेष दूत मुक्तिनाथ घिमिरेले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै लियो क्लबले सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे।
युगल बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लियो क्लब अफ तरहरा–इटहरीको औपचारिक गठन गरिएको हो। सहभागीहरूले नवगठित क्लबले स्थानीय समुदायमा सेवा, नेतृत्व विकास तथा युवा सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।




















