इटहरी । थारु संवत् २६४९ को अवसरलाई विशेष बनाउँदै कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको ‘मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९’ अन्तर्गतको प्रशिक्षण सत्र उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।

थारु समुदायको मौलिक कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। साथै, थारु युवा–युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आत्मविश्वास वृद्धि गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ।

प्रशिक्षण सत्रमा सहभागीहरूलाई थारु समुदायको इतिहास, कला, संस्कृति, परम्परा, चाड पर्व थारु परिकार, मौलिक हस्तकला, कन्टेन्ट क्रिएसन, सार्वजनिक वक्तृत्वकला, व्यक्तित्व विकास तथा र्याम्प वाकलगायत विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिँदै आएको छ।

त्यसैगरी, थारु समुदायका मौलिक सांस्कृतिक नृत्यहरू जस्तै धुम्रा नाच, लाठी नाच लगायत अन्य परम्परागत पौराणिक गित चाचैर बिर्हैन बरमसा पराती समासामिन जटाजाटिन प्रस्तुतिहरू सम्बन्धी विशेष प्रशिक्षण पनि सञ्चालन भइरहेको छ।

आयोजकका अनुसार, प्रतियोगिता केवल सौन्दर्यमा सीमित नभई थारु समुदायको इतिहास, संस्कार, संस्कृति तथा मौलिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियानका रूपमा अघि बढाइएको हो। प्रशिक्षणमार्फत सहभागीहरूमा आफ्नो समुदायप्रति गर्व गर्ने भावना विकास गराउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा थारु संस्कृतिको प्रतिनिधित्व गर्न सक्षम नेतृत्व उत्पादन गर्ने लक्ष्य लिइएको छ।

‘मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९’ कार्यक्रमले थारु समुदायको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्ने, सिक्ने र विश्वसामु चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।