चितवन । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा जङ्गली हात्तीको गतिविधि प्रभावकारी रूपमा निगरानी गर्न ‘ध्रुवे’ नामले चिनिने जङ्गली हात्तीमा स्याटेलाइट रेडियो कलर जडान गरेको छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राविधिक टोलीले डार्ट ९बेहोस बनाउने औषधि० प्रयोग गरेर हात्तीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएपछि यसको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको हो। आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेपछि दाह्रा काटी हात्तीलाई पुनः प्राकृतिक बासस्थानमै छाडिएको उनले जानकारी दिए।

उनका अनुसार रेडियो कलर जडानसँगै जीपीएस प्रविधिमार्फत हात्तीको वास्तविक समयको अवस्थिति र गतिविधि निरन्तर निगरानी गर्न सकिनेछ। यसले हात्ती मानव बस्ती नजिक पुगेको अवस्थामा समयमै जानकारी प्राप्त हुने र आवश्यक सतर्कता अपनाउन सहज हुने अपेक्षा गरिएको छ।

रेडियो कलर जडान कार्यमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोली सहभागी भएको थियो।

गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी तथा निगरानीलाई तीव्र बनाएको थियो। प्रतिकूल मौसम र घना झाडीका कारण नियन्त्रण प्रक्रिया केही दिन लम्बिएको निकुञ्जले जनाएको छ।

निकुञ्जले स्थानीय बासिन्दालाई जङ्गली हात्तीको गतिविधिप्रति सतर्क रहन, निकुञ्जबाट जारी गरिएका सूचना तथा सुरक्षा निर्देशनको पालना गर्न तथा हात्ती देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

निकुञ्जको विश्वास छ कि स्याटेलाइट रेडियो कलर प्रविधिको प्रयोगले हात्तीको आवागमनको निगरानीलाई थप प्रभावकारी बनाउँदै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्नेछ।