सुनसरी । पूर्वी नेपालमा निरन्तर वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बढ्दो बहाव व्यवस्थापनका लागि बुधबार राति कोसी ब्यारेजका २१ वटा ढोका खोलिएको छ।
सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बुधबार राति अबेर कोसी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको थियो। बहाव बढ्दै गएपछि पानीको निकास सहज बनाउन ब्यारेजका २१ वटा ढोका सञ्चालनमा ल्याइएको हो।
कोसी ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा ढोका रहेका छन्। आवश्यकता र नदीको बहावअनुसार क्रमशः थप ढोका खोल्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने प्रचलन छ।
मौसमविद्ले पूर्वी नेपालमा अझै वर्षा जारी रहने पूर्वानुमान गरेका छन्। यसका कारण सप्तकोसीसहित अन्य नदीको बहाव थप बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिने भएकाले वर्षायाममा यसको बहाव तीव्र रूपमा बढ्ने गर्छ। प्रत्येक वर्ष असारदेखि भदौसम्म पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण नदी आसपासका क्षेत्रमा डुबान र कटानको जोखिम उच्च रहने गरेको छ।
सुख्खा मौसममा अपेक्षाकृत शान्त देखिने सप्तकोसी वर्षायाममा भने उग्र रूप लिने भएकाले नेपालसँगै भारतका सीमावर्ती क्षेत्रले समेत यसको अवस्थालाई विशेष निगरानीमा राख्ने गरेका छन्।




















