झापा । असार महिना सकिन लाग्दा झापामा धान रोपाइँ ६२ प्रतिशत सम्पन्न भएको छ। समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएकाले अधिकांश क्षेत्रमा रोपाइँले गति लिएको भए पनि रासायनिक मलको अभावले किसान चिन्तित बनेका छन्।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार सोमबारसम्म जिल्लाको कुल धानखेतीयोग्य क्षेत्रफलमध्ये ६२ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो। त्यसयता विभिन्न स्थानीय तहमा रोपाइँ निरन्तर जारी रहेकाले यो प्रतिशत अझ बढेको उनले बताए।
उनका अनुसार गत वर्षजस्तै यस वर्ष पनि रोपाइँको गति सामान्य रहेको छ। समयमै मनसुन सक्रिय भएकाले पर्याप्त वर्षा भएको र अधिकांश क्षेत्रमा सिँचाइको समस्या नदेखिएकाले किसानले धमाधम रोपाइँ गरिरहेका छन्।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार झापामा ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ, जुन जिल्लाको कुल भूभागको करिब ७६ प्रतिशत हो। पूर्वी तराईको प्रमुख अन्न उत्पादन गर्ने जिल्लामध्ये झापा अग्रस्थानमा पर्दछ र यहाँ धान मुख्य बालीका रूपमा उत्पादन हुँदै आएको छ।
यद्यपि, मौसम अनुकूल भए पनि आवश्यक समयमा रासायनिक मल सहज रूपमा उपलब्ध नभएकाले किसान चिन्तामा छन्। धान रोपाइँसँगै आवश्यक पर्ने युरिया र डीएपी मलको अभावका कारण कतिपय किसान निजी बजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएको गुनासो गर्छन्।
कृषि ज्ञान केन्द्रले भने रोपाइँको अन्तिम चरणसम्म अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न हुने अपेक्षा गरेको छ। मौसम अनुकूल रहे उत्पादनमा उल्लेख्य असर नपर्ने अनुमान गरिए पनि मलको अभाव लामो समय कायम रहे धानको वृद्धि र उत्पादनमा असर पर्न सक्ने कृषि प्राविधिकहरूको भनाइ छ।
देशकै प्रमुख धान उत्पादन जिल्लामध्ये झापा एक भएकाले यहाँको उत्पादनले प्रदेश तथा राष्ट्रिय खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। त्यसैले समयमै रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न सके यस वर्ष पनि धान उत्पादन सन्तोषजनक रहने कृषि क्षेत्रका सरोकारवालाको विश्वास छ।




















