काठमाडौं । नेपाल आयल निगमले आज (बुधबार)देखि देशभर पुनः १४.२ किलोग्राम तौलका खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ। निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने तथा प्रशोधन केन्द्रबाट आपूर्तिमा सुधार आएसँगै उपभोक्ताबाट १४.२ किलोग्राम सिलिन्डरको माग बढेकाले साविककै तौलका सिलिन्डर पुनः बजारमा उपलब्ध गराइएको हो।

निगमले १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ कायम गरेको जनाएको छ।

यसअघि ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो।

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै क्षमताका ग्यास सिलिन्डर उपलब्ध हुन सक्नेछन्। त्यसैले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ।

साथै, भारतबाट नियमित रूपमा खाना पकाउने एलपी ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले उपभोक्तासँग अनुरोध गरेको छ।